कङ्गाे- लोकतान्त्रिक गणतन्त्र कंगोमा हुन लागेको निर्वाचन एक हप्ता पछाडि सारिएको छ।
यही डिसेम्बर २३ का दिन गर्ने तय भएको निर्वाचनलाई आगामी डिसेम्बर ३० मा गर्ने गरी नयाँ मिति तय गरिएको यहाँको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन सारिएको प्रति प्रश्न गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले विश्वसनीय निर्वाचनका लागि चासो राखेको छ।
देशको निर्वाचन आयोगले गत बिहीबार निर्वाचन पछाडि सार्ने निर्णय गरेपछि राष्ट्रसंघले चासो देखाएको हो। कंगोमा लामो समयपछि राष्ट्रपतीय, संसदीय र प्रादेशिक निर्वाचन हुन लागेको छ।
परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा ढिलो भएपनि निर्वाचन निष्पक्ष, विवादरहित र स्वतन्त्र हुने विश्वास गरिएको छ।
'कंगोका जनताले स्वतन्त्रतापूर्वक मत हाल्न र आफ्ना प्रतिनिधि निर्भयपूर्वक छान्न पाउछन् भन्ने हाम्रो विश्वास छ,' वक्तव्यमा भनिएको छ।
सुरक्षा परिषद्का सदस्यहरुले वार्ता र छलफललाई निरन्तरता दिँदै सकारात्मक टुंगोमा पुर्याउन कंगोका राजनीतिक दलहरुलाई सुझाव पनि दिएका छन्।
निर्वाचन नजिकिँदै गर्दा कंगोका राजनीतिक पार्टीहरुका बीचमा विवाद हुँदै आएकाे छ भने कतिपय दिन हिंसात्मक र अशान्त क्रियाकलापहरु पनि भएका छन्।
सन् २०१६ को डिसेम्बर ३१ मा निष्पक्ष, विश्वसनीय र स्वतन्त्र निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न कंगोका दलहरुले सहमति गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।