काठमाडौ- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याईं गर्न नहुने बताएका छन्।
चालू आवको प्रथम चौमासिक प्रगति समीक्षा र गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको टिप्पणी गरेका थिए।
शान्ति सुरक्षा र विकास अन्तरसम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालजस्ता निकायले बुझेर सोही अनुरुपको सहयोग गर्नुपर्ने उहाँको भनाई छ।
सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा गृहमन्त्री थापाले जोड दिएका थिए।
मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेस भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायहरुलाई निर्देशन समेत दिएका थिए।
कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले मन्त्रालयबाट आवश्यक सहयोग रहेपनि मन्त्रालय अन्तर्गतका निकायहरुले अपेक्षित गती अझै लिन नसकेको बताएका थिए।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरे।
बैठकमा गृह मन्त्रालय अन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग, प्रहरी किताबखाना लगायतका निकायहरुले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेस गरेका थिए।
बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।