धनुषा– श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गते देखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ।
मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सात वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो।
मन्त्रालयको निर्णय बमोजिम पुुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन।
मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारी समेत कार्यालयमा आइपुगेका छैनन्।
सेवा सुरु गर्न उपसचिव सहित कम्तिमा १४ कर्मचारी आवश्यक छ। श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगी सहित जम्मा ३ कर्मचारी कार्यरत छन्।
श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा सुरु गर्न आन्तरिक तयारीहरू भइरहेको दाबी गरे।
प्रवक्ता रेग्मीले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको बताउँदै उनले भने, ‘ पुस १५ देखि सेवा सुरु गर्न सकिने अवस्था हेरेर नै समय सिमा तोकिएको हो र सोही बमोजिम तयारी भइरहेको छ।’
श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधि मार्फत् हुने हुनाले प्रविधि जडानसँगै काम सुरु गर्न समय नलाग्ने बताए।
उनले तोकिएको समयबाट नै सेवा सुरु हुने बताए।
मन्त्रालयको २०७०/०७१ को प्रतिवेदन बमोजिम प्रदेश २ बाट मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकको संख्या ५ लाख ८२ हजार २ सय ८१ छ।
त्यसमध्ये धनुषाबाट मात्रै सबैभन्दा बढी १ लाख ३९ हजार ७ सय १७ जना विदेशिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।