तुलसीपुर- सल्यान–तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो। बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए। आज यस क्षेत्रका निजी, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द भएका छन्।
यसैबिच, सिटिइभिटीले आज देशभर श्रद्धाञ्जली सभा गर्ने भएको छ। शनिबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सिटिइभिटीको आकस्मिक बैंठकले दाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै परिषद्का आंगिक, साझेदारी, प्रााविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरु तथा निजी शिक्षालयहरुमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ।
बैंठकले आर्थिक सहायताको व्यवस्था गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।