दमक- दमक-३ स्थित अक्सफोर्ड बोर्डिङ स्कुलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन्। विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन्।
कक्षा ७ देखि १० सम्मका १ सय २० विद्यार्थीले मासिक ३० रुपैयाँ सङ्कलन गरी त्यही रकममार्फत उक्त सहयोग दिइएको प्राचार्य डिल्ली चापागाईंले बताए।
विद्यालयका अध्यक्ष गङ्गादेव चौधरीले विद्यार्थीसहित शिक्षकबाट सङ्कलित रमकबाट आश्रमका विद्यार्थीलाई खाद्य समान दाल, चिनी, चना, केराउ, भुजा, सावुन, दन्तमन्जन, औषधिलगायतका सामग्री वितरण गरिएको बताए। सोही अवसरमा आश्रममा रहेका बालबालिकाको दन्त परीक्षणसहित उपचारसमेत गरिएको थियो।
यस्तै, विद्यार्थीको सोही कोषबाट दमक–४ मा रहेको रत्न वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई समेत सहयोग गर्ने तयारी रहेको चापागाईंले बताए।
त्यहाँ ज्येष्ठ नागरिकका लागि आवश्यकीय सामाग्री सहयोग गरिने स्कुलले जनाएको छ। आश्रममा करीब ५८ हजार रुपैयाँ मूल्य बराबरको सहयोग सामाग्री वितरण हुने छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।