खजुरा, बाँके- बाँकेमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एक जना कामदारको मृत्यु भएको हो। उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका–९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए।
यस्तै वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ।
प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो। वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।