एडेन– यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघले जनाएकाे छ।
होडेडाका लागि भएको युद्धविराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले विश्वास व्यक्त गरेको छ। राष्ट्रसङ्घको प्रस्तावमा युद्धविरामको अनुगमन सुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाइएको छ।
साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ। युद्धविरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताए। उनले कुवेत र साउदी अरेबियाका सहयोगी राष्ट्रको निरन्तरको प्रयास सफल भएको पनि दाबी गरे।
राष्ट्रसङ्घ प्रतिनिधि क्यामर्टको समूहले एडेनमा विश्व समुदायबाट मान्यताप्राप्त सरकारका नेताहरूलाई भेटी आइतबार विद्रोही नियन्त्रित राजधानी साना हुँदै युद्धविराम क्षेत्रमा पुग्नेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।