जनकपुरधाम- प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथिली संस्कृतिका लोकगाथा र लोकबोली अन्य भाषाको तुलनामा प्राचीन रहेको बताएका छन्।
जनकपुरमा शनिबारदेखि सुरु भएको १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख कायस्थले प्रदेश सरकारलाई भाषा र साहित्यबारे कसरी अगाडि बढ्ने भन्ने नीति बनाउन सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रमुख कायस्थले सम्मेलनबाट निष्कर्ष निकाल्दा नेपालको संविधान र नियम कानुन समेतलाई ध्यान दिन आयोजकलाई सल्लाह दिँदै भने, ‘हामी आफ्नो कुरा राखिराख्दा, सम्मान खोजिराख्दा अरुका पनि कुरा र सम्मानमा ध्यान दिनुपर्दछ।‘ उनले मिथिला संस्कृति बचाइराख्न विज्ञानसम्मत बनाउनुपर्ने भाषा अभियन्तालाई आग्रह गरेका थिए।
भाषाविद् डा. रामअवतार यादवले प्रदेश २ मा प्रमुख भाषा र कामकाजको भाषा समेत मैथिली हुनुपर्ने बताए। दोश्रो भाषाका रूपमा भोजपुरीलाई मान्यता दिनुपर्ने सुझाव उनको थियो।
भोजपुरीका साहित्यकार अशोक अश्कले प्रदेश २ मा मिथिला र मैथिलीमात्र होइन, भोजपुरीलाई समेत अगाडि लग्ने कुरा गर्दा उपयुक्त हुने बताए।
पत्रकार राजेश्वर नेपालीले मातृभाषाको विकासका लागि सबैले गृहकार्य गर्नुपर्ने सुझाव दिँए। भाषणबाजीले मात्रै केही नहुने बताएका उनले भाषालाई मात्र नभई भेषभूषामाथि समेत ध्यान दिनुपर्ने सुझाव दिए।
साहित्यकार अशोक कुमारले इतिहास बिनाको भूगोल परिकल्पना गर्न नमिल्ने बताए। प्रदेश २ का नेतालाई इतिहास पढ्न सल्लाह दिँदै उनले भने, ‘तपाईंहरु पढ़्नुस् इतिहास, मैथिली र मिथिलाको फ्यान बन्न बाध्य बन्नुहुन्छ।’
जनकपुरका पूर्वमेयर बजरंग साहले जर्मनीका विद्वानले पनि मिथिला र मैथिली पुरानो संस्कृति रहेको सिद्ध गरिसकेको बताए। मिथिलाको प्राचीन राजधानी जनकपुर अहिले पनि प्रदेश २ को राजधानीका रुपमा रहेको उनको भनाइ थियो।
भारतका पूर्वराष्ट्रपति, प्रधानमन्त्रीसमेत जनकपुरलाई मिथिलाका रूपमा हेरेर सीतानगरी भन्दै आउने गरेको उनको भनाइ थियो। उनले मिथिलाको प्राचीन परम्परा, इतिहास, पहिरन, संस्कृति अन्य संस्कृतिका तुलनामा उच्च रहेको दाबी गरे।
अधिवक्ता अशोक झाले प्रदेश २ मा मैलिथीलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने बताएका थिए।
मैथिली अभियन्ता प्रवीणनारायण झाले प्रदेश १ मा समेत मैथिली भाषालाई स्वीकार गर्न थालिसकेको दाबी गरेका थिए।
भारतका जयनारायण यादवले मिथिला र मैथिलीको कुरा रामायणमा समेत उल्लेख भएको चर्चा गरे।
दुई दिनसम्म चल्ने सम्मेलनमा मैथिली भाषा, साहित्य तथा संस्कृतिका ज्ञाताहरु सहभागी छन्। कार्यक्रममा नेपाल र भारतका गरी ६० भन्दा बढी साहित्यकारको उपस्थिति छ।
मिथिला रत्नबाट तीन जना सम्मानित
सम्मेलनका अवसरमा तीन जनालाई मिथिला रत्नले सम्मान गरिएको छ।
सम्मानित हुनेमा सुप्रसिद्ध गायक रामा मण्डल, संस्कृतका विद्वान् र मौथिलीमा पुस्तक समेत निकालेका व्यक्तित्व डाक्टर जयनारायण यादव र स्व. योगेन्द्र साह छन्। साहलाई नेपालमा मैथिली नाट्य क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो।
त्यस्तै मिथिलाश्रीबाट भोजपुरी भाषाका विद्वान् वीरगञ्ज निवासी गोपाल अश्कलाई सम्मान गरियो भने अन्तर्राष्ट्रिय सद्भाव सम्मानले भारतका दीपक झालाई सम्मानित गरियो।
सम्मेलनमा मिथिला आर्टका कलाकार अजित साह ‘मुन्ना’, गायिका तनुजा चौरसिया र गायिका रश्मि रानीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा मैथिली लोकसाहित्यका विविध आयाम र घरमुहा मैथिली उपन्यासको हिन्दी अनुवादको लोकार्पण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।