धनगढी- कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी खोलाबाट जथाभावी ढंगले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खनन गरिएको छ।
गोदावरी खोलाको सीमित क्षेत्रबाट उत्खननका लागि अनुमति पाएको स्वाँर कन्स्ट्रक्सन प्रालिले जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेको हो।
गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको गोदावरी खोलाको महराटोलदेखि गोदावरी चिहानसम्म नदीजन्य पदार्थ उत्खनन गर्न वातावरणीय प्रभाव मूल्यांकन गरी अनुमति दिइएको छ। तर, सम्झौता पाएको कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रबाट पनि उत्खनन गरिरहेको स्थानीयहरुले बताएका छन्।
गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन भएको क्षेत्रभन्दा बाहिरबाट नदीजन्य पदार्थ उत्खनन नगर्न कम्पनीसँग सम्झौता गरेको थियो। कम्पनीले गोदावरी नगरपालिका वडा नम्बर १ मा पर्ने चौकीडाँडा, वनदेवी र चेतना सामुदायिक वनको बीचमा रहेको गोदावरी खोलाबाट पनि नदीजन्य पदार्थ उत्खनन गरिरहेको छ।
स्थानीयका अनुसार त्यस क्षेत्रमा दैनिक १५ देखि २० वटा ट्याक्टरहरुले नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका छन्।
हामी त्यस क्षेत्रमा पुग्दा ढुङ्गा, बालुवा उत्खन्न गर्न ट्याक्टरहरुको लाइन रहेको थियो। ट्याक्टर चालकहरु भन्छन्, 'हाम्रो मालिकले ठेक्का पाएका छन्। हामीलाई उत्खननबारे खासै केही थाहा छैन।’
सम्झौतामा राजमार्ग र पुलको उत्तर–दक्षिण पाँच सय मिटरभित्र नदीजन्य पदार्थ संकलन गर्न नपाउने उल्लेख छ। तर, हामी जाँदा राजमार्ग र पुलको छेउमा ट्याक्टरहरु बालुवा संकलन गरिरहेका थिए।
यस्तै जिल्ला समन्वय समिति कैलालीले गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खन्न गर्न अनुमति दिएपछि त्यस क्षेत्रका स्थानीयले विरोध गरेका छन्। नदीमा एक्स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् तीव्र पारिएपछि उनीहरु चिन्तित बनेका हुन्।
गोदावरी नगरपालिका वडा नम्बर २ का स्थानीय खेमराज जोशीले भने, ‘विगतमा नदीका कारणले बाढीको मार खेप्नुपरेको थियो। त्यसपछि बाढी नियन्त्रणका लागि नगरपालिकाबाटै अहिले उत्खनन भइरहेको स्थानतिर तटबन्धन गरिएको थियो।’ उनले अहिले जथाभावी उत्खनन हुन लागेपछि बस्ती नै बाढीले सखाप पार्न सक्ने चिन्ता व्यक्त गर्दै भने यसलाई नियन्त्रण नगर्ने हो भने यहाका अधिकांश बस्ती जोखिममा पर्ने बताए।
उनका अनुसार पहिले वातावरणीय प्रभाव मूल्यांकन नहुँदा कहिलेकाहीँ स्थानीयहरुले समुदायको बाटो बनाउन त्यस खोलामा ट्याक्टर लगेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका थिए। उनले भने, ‘यसरी एक्सकाभेटर नै हालेर नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य कहिले भएन।’
उनले नगर प्रमुखले दम्भको आधारमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न दिएको आरोप लगाए।
स्थानीय हरि भट्टराईले पनि ठेकेदारले जहाँ पायो त्यहीँ ठूलोठूलो खाडल बनाउने काम गरिरहेको बताए।
तेघरी, गोदावरी सामुदायिक र राष्ट्रिय वनमा पर्ने गोदावरी नदीमा उत्खनन क्षेत्र तोकिएको छ। यही वन क्षेत्रमा प्रदेशसभाले प्रदेशको राजधानी तोकेको छ। यसरी जथाभावी उत्खनन भएमा भोली राजधानीको संरचना बनाउन समस्या देखिने स्थानीयहरु बताउँछन्।
गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटका अनुसार स्वाँर कन्स्ट्रक्सनसंग एक करोड २० लाखमा सो क्षेत्रमा उत्खनन सम्झौता भएको हो। कन्स्ट्रक्सनले त्यस क्षेत्रमा उत्खननबाट प्रति ट्याटरबाट प्रति घनमिटर ८५ रुपैयाँ संकलन गर्ने गरेको छ। सूचना अधिकारी भाटले भने, ‘यदि सम्झौताविपरीत कुनै काम भएको भए कारबाही गरिनेछ।’
स्वाँर कन्स्ट्रक्सनका ठेकेदार लक्ष्मण स्वाँरले भने सम्झौताविपरीत खोलामा अन्यत्रबाट उत्खनन नगरेको दाबी गरेका छन्। उनले ट्याक्टर तथा टिप्परलाई पनि वातावरणीय प्रभाव मूल्यांकन भएका क्षेत्रभन्दा बाहिर गएर ढुङ्गा, बालुवा, गिट्टी संकलन नगर्न आग्रह गरिएको बताए।
सामुदायिक वनले एक ट्याक्टरबाट एक सय रुपैयाँ लिएर नदीबाट बालुवा संकलन गर्न लगाउने गरेको उनको भनाइ छ। उनले फाटफुट रुपमा आफ्ना कुनै ट्याक्टरले सो कार्य गरेको हुन सकेको र त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
यस्तै, गोदावरी नगरपालिकाले गोदावरी नदीसँगै खुटिया र खैराना नदीमा पनि नदीजन्य पदार्थ उत्खननका लागि सम्झौता गरेको छ।
दाहाल मल्टी ट्रेड प्रालिले खुटिया नदीमा ८ करोड ७९ लाख र खैराना नदीमा एक करोड ९१ लाख रुपैयाँमा सम्झौता गरेको छ। यो सम्झौता यस आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म रहेको गोदावरी नगरपालिकाले जनाएको छ।
स्थानीयका अनुसार ठेकेदारले सम्झौता गरेभन्दा विपरीत नदीजन्य पदार्थहरु संकलन गरिरहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।