काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा एसिया प्यासिफिक समिटको बारेमा तीव्र आलोचना भएपछि माधव नेपालले स्पष्टीकरण दिने भएका छन्।
गत मंसिर २९ देखि जारी पार्टीको स्थायी समिति बैठकमा बोल्ने प्राय सदस्यले पिस फेडेरेसनको आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा पार्टीका नेताहरुको संलग्नताको आलोचना गरेका थिए।
भोलिको बैठकमा नेता नेपालले स्पष्टीकरण दिने छन्। 'बैठकले उहाँका केही इश्युहरुमा प्रष्ट पार्न माग गरेपछि उहाँले भोलि प्रष्ट पार्न खोज्नुभएको हो', नेता छबिलाल विश्वकर्माले भने, 'मुख्य त एसिया प्यासिफिक समिटकै विषय हो।'
कोरियास्थित अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को मुख्य आयोजनामा गत मंसिर १४ देखि १७ सम्म एसिया प्यासिफिक समिट सम्पन्न भएको थियो।
शनिबार पाँच नेताले आफ्नो धारणा राखेका छन्। भोलिको बैठकमा नेता नेपालका अतिरिक्त प्रदीप ज्ञवालीले पनि बोल्नेछन्। त्यसपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम छ।
दाङमा शुक्रबार साँझ भएको बस दुर्घटनाप्रति बैठकले दुख व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।