मुम्बई, भारत- सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक पाकिस्तानी किशोरीसँगको ‘मायाजाल’मा परे भारतीय नागरिक हमिद नेहाल अन्सारी। सन् २०१२ मा अफगानिस्तान हुँदै ती प्रेमिका भेट्न पाकिस्तान पुगेका थिए उनी। सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी जब पाकिस्तानी किशोरीको घरमा पुगे, त्यहाँ त पाकिस्तानी प्रहरी तैनाथ रहेछन्। उनी पक्राउ परे। त्यतिमात्रै होइन जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय नै तोकियो।
'फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस्। अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,' पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताई यसै हप्ता स्वदेश फिर्ता भएका भारतीय इन्जिनियरसमेत रहेका उनले सञ्चारमाध्यमसँगको कुराकानीमा भने।
'अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत् ‘मायाजाल’ मा नफस्नुस्,' उनले सुझाव दिए।
पाकिस्तानी जेलमा ६ बर्षको बसाइपछि मंगलबार उनी घर फर्किएका हुन्। इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन्। उक्त दृष्य सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ।
'निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुसीको क्षण भएको छ,' ३३ वर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा भने, 'अब म व्यवसाय सुरु गर्छु। विवाह गर्छु। आफ्नो र परिवारको सुख दिन्छु। मलाई थप सामाजिक बन्नुछैन।'
क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तान सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन्। उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।