अल्जेर्स– अल्जेरियाली तटमा शुक्रबार एउटा डुंगामा आगलागी हुदाँ २० आप्रवासी वेपत्ता भएका छन्।
सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए।
घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ। ती मध्ये दुई जना बालबालिका रहेका छन्।
उद्धार गरिएकाहरू मध्ये केहीलाई आगोले डडाएकोले सामान्य घाइते लागेको अधिकारीहरुले बताएका छन्।
'उद्धार गरिएकाहरूको अवस्था स्थिर रहेको छ,' पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले भने। उद्धार गरिएकाहरूलाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ।
समाचारमा जनाइएअनुसार डुङ्गामा रहेका सबै जना अल्जेरियाका हुन्। आगलागी भएपछि यात्रुहरू उफ्रिएर भागेका थिए। आगो के कारणले लाग्यो भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।