काठमाडौं– मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिहरूको मूल्यांकन गरी सुझाव पेस गर्न सरकारले गठन गरेको समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। शुक्रबार समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको हो।
अर्थ मन्त्रालयले गत २० मंसिरमा मन्त्रीस्तरीय निर्णयबाट मुद्रा तथा पुँजी बजारमा पछिल्लो समयमा देखिएका प्रवृत्तिहरूको मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरू सम्बोधन गर्ने सुझाव पेस गर्न समिति गठन गरेको थियो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका सहसचिव संलग्न अध्ययन तथा सुझाव समिति गठन गरेको थियो।
सोहीबमोजिम समितिले आफ्नो प्रतिवेदन तयार गरेर अर्थमन्त्रीलाई पेस गरेको छ। अर्थमन्त्रीलाई पेस गरिएको उक्त प्रतिवेदनमा मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्ति समेतको अध्ययन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापन सम्बन्धमा विभिन्न ५८ सुझाव समेटिएको छ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्ति दायित्व व्यवस्थापनमा असन्तुलन देखिएका कारण मुद्रा तथा पुँजी बजार प्रभावित भएको ठहर समितिले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।