काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै धरौटी रकम जफत गर्ने सरकारको तयारीलाई उच्च अदालत पाटनले रोक लगाएको छ।
सिएमसीका तर्फबाट दायर भएको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले आइतबारसम्म धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
सिंगल न्यायाधीशको इजलासले सिएमसीको निवेदनमा दुवै पक्षको छलफल आवश्यक भएको भन्दै जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाएको उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले बताए।
उच्चको यो आदेशपछि मेलम्ची विवाद थप पेचिलो मोडमा पुगेको छ।
यसअघि सरकारले उनको धरौटी जफत गरी नयाँ कम्पनीमार्फत आयोजना निरन्तरता दिने बताएको थियो। तर अदालतको उक्त आदेशपछि यो प्रक्रिया सहज नहुने भएको छ।
आइतबार दुवै पक्षको बहसपछि उच्चले अन्तरिम आदेश खारेज गरेमात्र सरकारले धरौटी रकम जफत गर्न पाउनेछ। अन्तरिम आदेश निरन्तरता गरेमा भने पाउने छैन। रकम लिन नपाएमा सरकारले नयाँ बजेट व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
सरकारले यही विवाद समाधानका लागि परामर्शदाता कम्पनीलाई कामको मूल्यांकनको जिम्मासमेत दिएको थियो।सिएमसीसँगको वार्ता तीन दिनमा पनि निष्कर्षमा नपुगेपछि सरकार धरौटी जफत गर्ने निष्कर्षमा पुगेको थियो।
परामर्शदाता कम्पनी ’इप्टिसा’ लाई मेलम्ची आयोजनाको सुरुङ निर्माणको अवस्थाबारे प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार गरी एक हप्ताभित्र पेस गर्न भनिएको छ।
सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करिब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो। गत आइतबार कम्पनीका कर्मचारीहरुले भाग्ने तयारी गरेपछि सरकारले ८ जनाको राहदानी खोसेको थियो। आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका बेला ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधिहरू काम छोडेर भाग्न लागेपछि सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
खानेपानी मन्त्रालयले यसबारे विभिन्न पक्षसँग परामर्श गरेको थियो। तर, त्यसबाट कुनै निष्कर्ष आउन नसकेपछि यस्तो निर्णय गरेको हो।
ठेकेदार कम्पनीको बैंकमा धरौटीबापत करिब ३ अर्ब रुपैयाँ रहेको र कम्पनी सहमतिमा नआए सोही रकम जफत गरेर काम अघि बढाउने तयारीमा सरकार रहेको छ। सुरुङको बाँकी कामका लागि आयोजनालाई करिब २५ करोड रुपैयाँ भए पुग्ने अनुमानअनुसार सिएमसीले काम छोडेपनि लागत रकममा थप भार नपर्ने मन्त्रालयको दाबी छ।
यो पनि - मेलम्ची आयोजना : इटालियन ठेकेदार भागेपछि काठमाडौंबासीको आशामा फेरि पनि तुषारापात
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।