राजिवराज– सप्तरीका एक एजेन्टले नक्कली भिसा दिएर १८ लाख ठगी गरेको भन्दै वैदेशिक राेजगारीमा जान लागेका १२ जना युवा राजविराज आइपुगेका छन्। भिसा नक्कली भएको थाहा पाएपछि उनीहरु काठमाडौंबाट फर्केर शुक्रबार एजेन्ट खोज्दै राजविराज आइपुगेका हुन्।
तिलाठी–कोइलाडी गाउँपालिका–४ घर भएका अशोक मण्डलले आफूहरुलाई विदेश पठाइदिने भन्दै जनही १ लाख ५० हजारका दरले रकम ठगी गरेको उनीहरुको आरोप छ। एजेन्टलाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको उनीहरुले बताए।
ठगिनेमा सुनसरीको अमाही बेलहाका मो. इसिक मियाँ, जियावुल मियाँ, मुर्सिद अन्सारी, मोरङको विराटनगर– ११ का मो. फारुक मियाँ, कटहरी– ४ का मो. मुस्तफा, राजकिशोर साह, कदमाहाका मो. असलम, जमिर मियाँ, अख्तर मियाँ, मो. मुख्तार आलम, रहिम आलम र मो. हासिम छन्।
मण्डलले दुबई पठाइदिन्छु भन्दै जनही एक लाखका दरले रकम लिएको उनीहरुले बता। ‘चार महिनादेखि लगातार चार पटक काठमाडौं बोलाएर पनि हामीलाई पठाइएन,’ मो. असलमले भने, ‘ओहोर–दोहोर र हप्तौं दिनसम्म होटलको बसाइले आर्थिक रुपमा झन् समस्यामा प¥यौं।’ एजेन्टलाई बैंक मार्फत पठाएको र खर्चसहित जनही १ लाख ५० हजार रुपैयाँ डुबेको उनले बताए।
अन्तिम पटक उनीहरुलाई गत मंसिर ८ गते काठमाडौं बोलाएको थियो, तर मण्डलले नक्कली भिसाको कागज दिएर हिंडेपछि आफूहरु समस्यामा परेको मो. मुस्तफाले बताए। ‘भिसा जाँच गराउँदा नक्कली भएको थाहा पाएपछि घरबाट पैसा मगाएर फर्किनु प¥यो,’ उनले थपे, ‘हिजोसम्म कसरी विदेश जाने भन्ने थियो, अब पैसा कसरी असुल गर्ने भन्ने चिन्ता थपिएको छ।’
युवाहरुले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेको आप्रवासन स्रोत केन्द्रमा निवेदन दर्ता गराएका छन्। सिडिओ सुरेन्द्र पौडेललाई पनि समस्याका विषयमा जानकारी गराएको उनीहरुले बताए।
केन्द्रकी परामर्शदाता नीता चौधरीले एजेन्ट सम्पर्कमा नरहेकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत पहल गरेर युवाहरुलाई न्याय दिलाउन प्रयास गरिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।