काठमाडौं- कुनै समयका सहयात्री चक्रे मिलनको हात छिनाएको अभियोगमा तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएपछि गुण्डा नाइके दीपक मनाङे थुनामा रहेका थिए। तर, सर्वोच्च अदालतले उनको मुद्दा पुनरावलोकन गर्न आदेश दिएपछि उनी शुक्रबार धरौटी बुझाएर रिहा भएका छन्।
१० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा प्रयोग गर्दै बाहिर निस्केपछि मनाङेको सांसद पद के हुने भन्ने प्रश्न उठेको छ।
मनाङको प्रदेशसभा 'ख' स्वतन्त्र सांसदको रुपमा विजयी भएका उनी सपथ लिन नपाई थुनामा पुगेका थिए। चक्रे मिलनसँगको झगडाका संलग्न भएका अन्य प्रतिवादीहरु गणेश लामा सहितले सफाइ पाए पनि उनीमात्र बाँकी रहेका थिए। रीतपूर्वक म्याद तामेली नभएको भनि सर्वोच्चले उनको पुनरावेदन दर्ता गरेको छ।
मनाङेलाई पुनरावेदनले पाँच वर्षसम्मको सजाय तोकेकाले उनी तत्काल सांसदको रुपमा भने भाग लिन नपाउने देखिन्छ। पाँच वर्ष जेल सजाय भएकाले नैतिक पतनको कसुर अन्तर्गत उनी सांसद भने हुन नपाउने भएका हुन्।
अपराधकर्मदेखि राजनीतिसम्म, यस्तो थियो मनाङेको विगत
नेपालको संविधानमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद बन्न नसक्ने व्यवस्था गरेका कारण मनाङेले सांसदको सपथ तत्काल लिन नपाउने कानुनविदहरुको तर्क छ। उनीहरुका अनुसार ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट सफाइ नपाएसम्म निर्वाचन कानुन र संविधानका आधारमा मनाङेले सपथ लिन पाउनेछैनन्।
संविधानको धारा १७८ को उपधारा ‘घ’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति प्रदेशसभा सांसद बन्न अयोग्य हुने उल्लेख गरिएको छ।
गुण्डाराज छोडेर मनाङे राप्रपा प्रवेश गरेर मनाङको जिल्ला अध्यक्ष बनेका थिए। चुनावको मुखमा उनी एमालेमा प्रवेश गरे। तर एमाले पनि टिकट दिन आनाकानी गरेपछि उनी स्वतन्त्र उठेका थिए। तर एमालले आफ्नो उम्मेदवार फिर्ता बोलाउँदै मनाङेलाई सर्मथन भने गरेको थियो।
मनाङेले १ हजार ४ सय १० मत ल्याएर विजयी भएका थिए। उनले नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गरेका थिए।
तस्बिर : इकान्तिपुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।