काठमाडौं- सर्वोच्च अदालतको आदेश अनुसार गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) आज जेलबाट रिहा भएका छन्। सर्वोच्चले आदेशपछि उनलाई जेलमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं मुद्दाफाँटका डिएसपी मोहन थापाले जानकारी दिए।
डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।
मनाङ ‘ख’ प्रदेशसभाका स्वतन्त्र सदस्य मनाङेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र दीपकराज जोशीको संयुक्त इजलासले सदर गर्दै जेल सजाय सुनाएको थियो।
पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। मनाङे समूहले २०६१ सालमा गुण्डा नाइके मिलन गुरूङ ‘चक्रे’लाई खुकुरी हानेका थिए। सोही विषयमा मनाङेविरूद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो। सोही घटनाका आरोपित अर्का गुण्डा नाइके गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो।
कुटपिटभन्दा पनि ज्यान मार्ने नै उद्योग भन्दै सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दर्ता गरेको थियो। पाटन अदालतले २०६९ मा ज्यान मुद्दा ठहर गरेको थियो। अरूले भने सफाइ पाएका थिए। पुनः सरकारी वकिलको कार्यालयले मनाङेसहित अन्य आरोपितलाई पनि सजाय हुनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
यस्तो छ मनाङेको विगत
प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा थिए राजीव गुरूङ उर्फ दीपक मनाङे। उनी पहिल्यैदेखि प्रहरीको उच्च निगरानीमा थिए।
स्थानीय चुनावसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आबद्ध मनाङेले युवालाई समेटेर चुनावमा आपराधिक घटना घटाउन सक्ने भन्दै प्रहरीले उनीमाथि निगरानी सुरू गरेको थियो।
राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्षमा चुनिएका थिए। उनै मनाङेलाई स्थानीय चुनावमा सुरक्षा थ्रेट भन्दै काठमाडौं प्रहरी ५ दिन थुमानमा राखेको थियो।
तर मनाङेले प्रहरीलाई मात्रै होइन सबैलाई चकित पार्दै प्रदेशसभा चुनावमा उम्मेदवारी मात्रै दिएनन् जितेरै छाडे।
चुनाव जित्नुअगाडि मनाङे गुण्डा नाइकेका रूपमा परिचित थिए। काठमाडौंको ठमेलबाट मनाङेको आपराधिक यात्रा सुरू भएको थियो। ठमेलमा मनाङका मानिसले होटल व्यावसाय सुरू गरेसँगै उनको आपराधिक यात्रा सुरू भएको थियो। २०५० सालदेखि नै मनाङले विभिन्न अपवाह फैलाउँदै हप्ता असुली गर्न थालेको जानकार प्रहरी अधिकारी बताउँछन्।
ठमेलमा रवाफ देखाउँदै हप्ता असुली गर्ने मनाङेका दुस्मनीका रूपमा अर्का गुण्डा नाइके चक्रे मिलन देखापरे। व्यवसायीबाट हप्ता उठाउन थालेका मनाङे पटकपटक पक्राउ पर्न थाले। पक्राउ पर्नु र छुट्नु मनाङेका लागि सामान्य जस्तै भएको थियो। १५ करोड रूपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो। पछि उनले सफाइ पाए।
धम्क्याउँदै पैसा असुल्दै आएका मनाङेको आपराधिक यात्राको बाधक बने केही समय अर्का गुण्डा नाइके चक्रे मिलन। गुण्डा नाइके चक्रे बाधक बनेपछि मनाङले चक्रेलाई खुकुरी प्रहार गरेर घाइते बनाए। सोही आरोपमा मनाङे २०६० साल पुस ११ गते पक्राउ परेका थिए। सोही आरोपमा जेल बसेर छुटेका मनाङे ०६५ साल फागुन र ०७० फागुनमा पुनः पक्राउ परे। २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङे १ वर्ष ६ महिना जेल बसेर छुटेका थिए।
यसरी लामो समयको गुण्डागर्दीबाट अकूत सम्पत्ति कमाएपछि मनाङे आफैंले ठेक्कापट्टा गर्न थाले। उनले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बताउँदै आएका थिए। पछि उनले बिस्तारै राजनीतिमा आफ्नो पहुँच बनाउन थाले। र, अपराध लुकाउने माध्यम राजनीति देखेका मनाङे राजनीतिमा लागे। मनाङे २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरे।
राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण भएपछि मनाङे मनाङको जिल्ला अध्यक्ष भए। तर उनी २०७४ असोजमा एमालेमा प्रवेश गरे। सुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परेका मनाङले पछि टिकट पाएनन्। उनले स्वतन्त्र उम्मेदवारी दिए। मनाङको प्रदेश 'ख' बाट १ हजार ४ सय १० मतका साथ उनी विजयी भए। उनका प्रतिस्पर्धी कर्म गुरूङले १ हजार २० मत ल्याएका थिए।
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय गएको माघमा सदर गरेपछि उनले सांसदको सपथ लिन भने पाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।