काठमाडौं– नेपाल विद्युत प्राधिकरणले एउटा मात्रै कम्पनीलाई मिल्नेगरी ४ वटा गाडी खरिद प्रक्रिया थालनी गरेको छ। प्राधिकरणले ‘रसुवा–नुवाकोट प्रसारण लाइनको मर्मत तथा सम्भार’का लागि खरिद गर्न लागेका ‘फोरडब्लुडी डबल क्याब पिकअप’ ट्रकको ‘स्पेसिफिकेसन’ तय गर्दा टोयटाको ‘हाइलक्स’सँग मात्रै मिल्नेगरी टेन्डर आह्वान गरेको छ।
प्राधिकरणको योजना तथा प्राविधिक शाखाले गरेको गाडी खरिद टेन्डरमा टोयटा गाडी मात्रै खरिद गर्न मिल्ने गरी ‘स्पेसिफिकेसन’ तयार गरेको हो।
प्राधिकरणले डिसेम्बर १८ मा ४ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो।
प्राधिकरणले गाडी खरिदका लागि ‘फोरडब्लुडी डबल क्याब पिकअप’ ट्रकको ‘स्पेसिफिकेसन’मा ४ वटा ढोका, फुल अप्सन, राइट ह्यान्ड ड्राइभ डिजल इन्जिन भएको फोरडब्लुडी डबल क्याब, शहरी तथा ग्रामिण शहरका सडकमा गुड्न सक्ने, माइनस ५ देखि माइनस ४५ डिग्री सेन्टिग्रेडसम्म र समूद्र सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा गुड्न सक्ने र पछिल्लो एक वर्षभित्र उत्पादन भएको हुनुपर्ने गाडीको औसत तौल ३ हजार किलोभन्दा बढी वा सोही बराबर भएको हुन पर्ने उल्लेख छ।
यसैगरी ड्राइभरसहित ५ सिट क्षमता, भारवहन क्षमता ९ सय ५० किलो वा सोभन्दा बढी हुनु पर्ने तथा गति १ सय किलोमिटर प्रतिघन्टा वा सोभन्दा बढी हुनेपर्ने सर्त पनि प्राधिकरणले अगाडि सारेको छ।
साथै ४ सिलिन्डरसहितको २४०० देखि २९०० सिसी क्षमताको पिकअपको पावर क्षमता १ सय ३० किलोवाट वा सोभन्दा बढी र टर्क क्षमता ४२० एनएम वा सोभन्दा बढी हुनुपर्ने सर्त राखेको छ। स्पेसिफिकेसनमा सबै स्पेयर टायर १६ इन्चको ट्युवलेस हुनुपर्ने सर्तसमेत अगाडि सारिएको छ।
गाडीको लम्बाई ५२ सय देखि ५४ सय मिलिमिटर, चौडाई १८ सय देखि १९ सय मिलिमिटर, उचाई १७ सय देखि २ हजार मिलिमिटर र ग्राउन्ड क्लियरेन्स २२० मिलिमिटर हुनुपर्ने सर्त टेन्डरमा उल्लेख छ। साथै पिकअपमा ‘पावर एन्ड टिल्ट स्टेरिङ’ हुनेपर्ने र इन्धन क्षमता ७५ लिटर हुनुपर्ने गरी स्पेसिफिकेसन तयार गरिएको छ। पिकअपको टर्न रेडियस ६ दशमलब ७ भन्दा बढी हुन नहुने सर्त अगाडि सारिएको छ।
प्राधिकरणले तय गरेको स्पेसिफिकेसनको आधारमा पिकअप बिक्री गर्दै आएका निसान, इसुजु, महिन्द्रा र फोर्ड गाडी कम्पनी टेन्डर प्रक्रियामा सहभागी हुनसक्ने अवस्था रहँदैन।
तर, गाडी कम्पनीले भने टेन्डर प्रक्रियामा केही स्पेसिफिकेसन नमिले पनि टेन्डरमा भने सहभागी हुने जनाएको छ। टेन्डरमा सहभागी भइपनि टेन्डर मुल्यांकन कमिटीले गर्ने निर्णयको आधारमा गाडी खरिद हुने उनीहरुको भनाइ छ।
फोरडब्लुडी पिक अप बिक्री गर्दै आएको निसानको टेन्डर स्पेसिफिकेसनमा दुई वटा कुरा मिल्दैन। निसानको गाडीको औसत तौल र पावर फरक पर्न गएको हो।
निसानको गाडीको तौल २ हजार ९ सय १० केजी छ। तर, प्राधिकरणले टेन्डरमा ३ हजार वा सोभन्दा बढी हुनुपर्ने उल्लेख गरेको छ। यसैगरी निसान गाडीको पावर क्षमता १ सय २० किलोवाट छ भने टेन्डरमा १ सय ३० किलोवाट पावर माग गरिएको छ।
यसैगरी, इसुजुको गाडीमा पनि दुई वटा सर्त फरक परेको छ। इसुजुको पिक अपमा टर्क पावर र औसत तौल मेल खाएको छैन। इसुजुको गाडीको तौल २ हजार ८ सय किलो मात्रै छ भने टर्क पावर ३८० एनएम मात्रै छ। तर, प्राधिकरणको टेन्डर स्पेसिफिकेसनमा क्रमशः ३ हजार किलो र ४२० एनएम उल्लेख छ।
फोर्ड कम्पनीको सोही मोडलको गाडीको इन्जिनको क्षमता नै मिल्दैन। फोर्डका गाडी नेपाली बजारमा २२ सय सीसी भन्दा तल र ३२ सय सीसी भन्दा माथिका मात्रै छन्। जसका कारण फोर्ड यो टेन्डरमा सहभागी हुन नसक्ने निश्चित प्रायः छ।
प्राधिकरणले तोकेका सबै स्पेसिफिकेसन मिल्ने भनेको टोयटा कम्पनीको ‘हाइलक्स फोरडब्लुडी क्याप पिकअप’ ट्रक होे। त्यसका लागि पनि हाइलक्सको बजार मूल्य ८९ लाख रुपैयाँको हाराहारीमा रहेको भएपनि प्राधिकरणले प्रतिगाडी १ करोड रुपैयाँ छुट्टाएको छ।
यस्ताे छ प्राधिकरणले आह्वान गरेकाे टेन्डर:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।