काठमाडौं- बैंकर्स संघले व्यक्तिगत मुद्दतीमा बैंकहरुले आफ्नो आवश्यकताअनुसार ब्याजदर बढाउन सक्ने सहमति गरेसँगै बैंकहरुले ब्याजदर बढाउने प्रतिस्प्रर्धा गरे। तर, उनीहरुको प्रतिस्पर्धा लामो समयसम्म टिक्न सकेन।
नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएसँगै संघले ब्याजदर घटाउन भद्र सहमति गर्यो। ब्याजदर घटाउने सहमति गर्दा सम्म १३ वटा बैंकले ब्याजदर बढाइसकेका थिए।
बिहीबारको सहमतिपछि अधिकांश बैंकले ब्याजदर घटाएका छन्। बैंकर्स संघले व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५ प्रतिशत र संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत मात्र ब्याज दिने सहमति गराएको थियो।
नबिल, मेगा, सेन्चुरी, हिमालयन, कुमारी लगायतका बैंकहरुले १३ प्रतिशतसम्म ब्याजदर दिने सूचना प्रकाशित गरेका थिए। तर, बिहीबार सहमति भएपछि ती बैंकहरुले व्यक्तिगत निक्षेपमा संघकै सहमति अनुसार ब्याजदर घटाएका छन्।
व्यक्तिगत निक्षेपमा १३ प्रतिशत ब्याजदर पुर्याएको नबिल र मेगा बैंकले शुक्रबार ब्याजदर ९ दशमलव प्रतिशतमा झारेका छन्। त्यस्तै सहमति तोडिँदा जनता बैंक नेपालले बढाएर १२ प्रतिशत पुर्याएको निक्षेपको स्किम बन्द गरेको घोषणा गर्दै सहमति अनुसारकै ब्याजदर तोकेको छ।
एनएमबी बैंकले पनि सहमति अनुसारकै ब्याजदर कायम गरेको छ। साथै नेपाल एसबिआई, सनराइजन र एभरेस्ट बैंकले सहमति अनुसारकै मुद्दती निक्षेपको ब्याज निर्धारण गरेका छन्। यता बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सहमति अनुसार ब्याज निर्धारण गरेका छन्।
लक्ष्मी बैंकले बचतको न्यूनतम ब्याज ५ प्रतिशत निर्धारण गरेको छ भने मुद्दतीको ब्याज सहमति अनुसार नै कायम गरेको छ। यता प्राइम बैंकले बचतको न्यूनतम ब्याज साढे ६ प्रतिशत राखेको छ भने ब्यक्तिगत मुद्दती सहमति अनुसार नै कायम गरेको छ। सिद्धार्थ बैंकले बचत खाताको न्यूनतम ब्याज बैंकले ६ प्रतिशतमा झारेको छ। अधिकतम ब्याज साढे ६ प्रतिशत छ।
१३ प्रतिशतको आसमा खाता खोल्नेलाई ब्याजदर कति?
विभिन्न बैंकहरुले व्यक्तिगत मुद्दती खातामा १३ प्रतिशत ब्याज दिनेगरी ग्राहक तानेका थिए। निक्षेपकर्ताले धेरै ब्याजको आसमा मुद्दती खाता खोले र अन्य बैंक तथा वित्तीय संस्थाबाट १३ प्रतिशत ब्याजकै लागि रकम सारे।
करिब २० दिनको अवधिमा १३ बैंकले व्यक्तिगत मुद्दतीमा ब्याजदर बढाएका थिए। निक्षेपकर्ता पनि जुन बैंकले ब्याजर बढी दिन्छ उसैमा खाता खोल्न हौसिएका थिए।
उहिले ब्याजदरमा सहमति कायम भए पनि त्यति बेला मुद्दती निक्षेपमा भएकाले उक्त ब्याजदरमा खाता खोल्नेले तोकिएको अवधिसम्म १३ प्रतिशत नै ब्याज पाउने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिइन। भनिन्, ‘निक्षेपकर्ताले जति अवधिको लागि मुद्दती खाता खोल्नुभएको हो, त्यति बेलासम्म खाता खोलेकै बेलाको ब्याजदर पाउनुहुन्छ।’
सहमतिअघि मेगाले व्यक्तिगत निक्षेपमा १३ प्रतिशत ब्याजदर दिएको थियो। शुक्रबार उक्त ब्याजदर घटाएर सहमति (९.२५) अनुसार नै झारेको छ। तर, १३ प्रतिशत ब्याजदर हुँदा खाता खोल्नेले तोकिएको अवधिसम्म १३ प्रतिशत नै ब्याज पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।