काठमाडौं– मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले राष्ट्रपतिका निम्ति हेलिकप्टर खरिदका विषयमा आएका समाचारप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सोधे– जे कुरामा पनि राष्ट्रपतिलाई नै जोडेर आउनुपर्ने उद्देश्य हो कि सत्य हो?
'हरेक कुरामा राष्ट्रपतिलाई चासो नै नभएको विषय जोडेर हामीले नै ल्याएको संस्थालाई आरोपित गरिरहनु भनेको गणतन्त्रप्रतिको वितृष्णा हो', उनले पत्रकारहरुलाई सुझाब दिए, 'होइन भने, सत्यतथ्य नै पस्किदिनु राम्रो हुन्छ।'
मन्त्री बाँस्कोटाले स्रोतले सूचना दियो भन्दैमा विश्वास नगर्न भन्दै आफ्नै पत्रकारिताको अनुभव सुनाए।
'कुनै परराष्ट्रमन्त्रीले राति ११ बजे फोन गरेर ब्रेकिङ न्युज टिपाउनुभयो। पटकपटक परराष्ट्रमन्त्री भएको व्यक्तिले भनेको कुरा होला भनेर पत्याइयो। यति कल साइन र फलानो देशको हेलिकप्टर यति बजेर यति मिनेटमा यो ठाउँलाई यति फन्का लगाएर फर्क्यो। न्युज राख्नुपर्यो, के उद्देश्य थियो? न्युज राखियो। भोलिपल्ट त सबै हावा रहेछ। आफैंले आफैलाई धिक्कारें। म साप्ताहिकमा काम गर्थें, अर्को हप्ता खण्डन गरें।'
उनले ०७३ साउन १३ गते रक्षा मन्त्रालयले त्यतिखेरको ८ अर्ब ५६ करोड खर्च गरेर चारवटा हेलिकप्टर किन्ने प्रस्ताव तयार गरेको बताए। 'त्यो विपत् व्यवस्थापन, शान्ति सुरक्षा, विशिष्ट व्यक्तिको उडान र कमर्सियल फ्लाइटका निम्ति भनेर त्यो गरिएको थियो', उनले थपे।
उनले अघिल्लै सरकारले यसबारे आवश्यक निर्णय गरेको पनि बताए। उनले त्यो हेलिकप्टर राष्ट्रपतिको लागि नै भनेर प्रतितपत्र नखोलिएको बताए।
मन्त्री बाँस्कोटाले अबको संसद अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा सफल बनाउन चाहेको जानकारी दिए।
अन्तरप्रदेश बैठकपछि बनाइएको कार्यदलले संघ, प्रदेश तथा स्थानीय तहसँग जोडिएका २९ वटा विषयलाई टुंगो लगाएको मन्त्री बास्कोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।