काठमाडौं- १ करोडभन्दा बढी कर्जा रकम अपचलन गरी भ्रष्टाचारको आरोप लागेका कृषि विकास बैंक महारागंजका तत्कालीन शाखा अधिकृत गोविन्दप्रसाद जोशीले सफाई पाएका छन्।
न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले जोशीलाई उक्त भ्रष्टाचार मुद्दामा सफाइ दिएका हुन्। जोशीसंगै कर्जा दुरुपयोगको आरोप लागेका तत्कालीन लेखा सहायक मीनबहादुर जिसीले समेत सर्वोच्चबाट सफाई पाएका छन्।
६ वटा साना उद्योग व्यवसायीलाई धितो कम मूल्यांकन ऋण प्रवाह गरेको भन्दै विशेष अदालतले उनीहरुद्वयलाई भ्रष्टाचारी ठहर गरेको थियो।
२०६४ जेठ ११ मा विशेष अदालतले दुवैलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो।
उक्त मुद्दामा यसअघि नै सर्वोच्चले फैसला सुनाएको थियो। तत्कालीन समयमा सर्वोच्चको संयुक्त इजलासले २०६८ कात्तिक १ मा विशेषको फैसला केही अंशमात्र उल्टी हुने निर्णय सुनाएको थियो। तर उक्त मुद्दा पुनः सुनुवाइका लागि अहिले पुनरावलोकन निस्सा पाउँदै सफाइ पाएको थियो।
कृषि विकास बैंकलाई १ करोड १ लाख २२ हजार ९ सय ४४ रुपैया नोक्सान गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
घरेलु उद्योग व्यवसायीलाई जग्गा राखी ऋणीले मागे बराबर कृषि विकास बैंकले कर्जा उपलब्ध गराएको थियो। तर धितो यकिन नगरी किर्ते नक्सा बनाएर अनुमानको आधारमा प्रवाह गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यसरी प्रवाह भएको कर्जाको सदुपयोगिता निरीक्षण समेत उनीहरूले नगरेको अख्तियारको दाबी थियो।
यी कम्पनीले लगेका थिए ऋण
जोशी र जिसीको संलग्नतामा ६ व्यवसायीलाई सरकारी रकम उपलब्ध गराएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। यी कम्पनीले कृषि विकास बैंकबाट गैरकानुनी रुपमा कर्जा लगेका थिए।
एभरेस्ट ब्याग उद्योग- २२ लाख २ हजार ५ सय १३
टिपकल सिंह नेवा क्याफे- १४ लाख ६४ हजार ६ सय ३५
सिंजापती प्रटिङ प्रेस- ३० लाख ७१ ह्जार ९ सय ८८
सदिक्षा हेडिक्राफ्ट- १३ लाख ५९ हजार १ सय ९१
सागर होटल- १० लाख
शैलेश्वरी हेडिक्राफट- १० लाख २० हजार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।