नयाँ दिल्ली (एजेन्सी)– भारत हरियाणाकी लोक गायिका हर्षिता दहियाको हत्यामा उनकै भिनाजु जिम्मेवार रहेको खुलासा भएको छ। यसै साता २२ वर्षीया हर्षिताको गोली हानी हत्या गरिएको थियो। हर्षिताकै दिदीले आफ्नो श्रीमान अर्थात हर्षिताका भिनाजु हत्याको मुख्य आरोपि भएको बयान दिएका छन्।
हर्षिताका भिनाजु दिनेश हाल दिल्लीको तिहाड जेलमा बन्द छन्। केही समयअगाडि मात्र हर्षिताले आफ्नो भिनाजु माथि बलात्कारको आरोप लगाएकी थिइन्। यस विषयमा उनले मुद्धा पनि दर्ता गराएकी थिइन्।
हर्षिता ‘सुहागरात’ गीतबाट निकै चर्चित भएकी थिइन्। उनको विभिन्न गायकसँग मिलेर ७ वटा एल्बम सार्वजनिक भइसकेको छ। उनी डेढ वर्षदेखि स्टेज सो गर्दै आइरहेकी थिइन्। उनको सोशल मिडियामा ठूलो चर्चा हुने गरेको थियो। उनी आफै आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्ने गर्थिन, जसको ‘फ्यान–फलोअर’ ठूलो मात्रामा थिए।
हरियाणाको सोनीपतस्थित मोहम्मदपुर गाउँकी स्थायी वासिन्दा हर्षिता लामो समयदेखि नयाँ दिल्ली नजिकैको नरेलामा बसोबास गर्दै आइरहेकी थिइन्। हर्षिताको आमा–बुवाको पनि निधन भइसकेको थियो। प्रहरीले उनको आमाको पनि हत्या भएको बताएको छ। हत्यामा उनकै भिनाजु मुख्य आरोपि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।