चिप्लेढुङ्गा– गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो। पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो।
कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो। हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए।
घर नजिकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए। श्रेयाले प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए।
त्यसपछि बेहोस भएको थाहा भएलगत्तै ढुङ्गाले टाउकामा हानेर श्रेयाको हत्या गरेर शव पूर्वतर्फ जङ्गलमा फालेका थिए।
रक्सीले मात्तिएर श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले आफूले बलात्कारपछि हत्या गरेको अदालतमा बयान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।