काठमाडौं– संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रुख कटान गर्न सरकारको नाममा निर्देशन दिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको समितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा विमानस्थलका लागि आवश्यक पूर्वाधारहरु निर्माणका लागि आवश्यक स्थानका रुखहरु मात्र कटान गरी अबिलम्व अगाडि बढाउन भनेको छ।
समितिले विमानस्थलको धावनमार्गको रुपमा रहने टाँगिया बस्ती र काठगाउँ लगायतका बस्तीहरु स्थानान्तरणका लागि पनि छिटो गर्न समितिले भनेको छ।
समितिले आयोजनाको डिपिआर तयार गरी यही आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न समेत संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले रुख कटान गरेपछि उक्त क्षेत्रमा रोप्ने बिरुवाको सम्बन्धमा समेत योजना पेस गर्न भनेको छ। रुख कटानका लागि तत्काल सहमति दिन समेत समितिले बन तथा वातावरण मन्त्रालयको नाममा निर्देशन दिएको छ।
विमानस्थल निर्माणपछि तल्लो तटीय क्षेत्रमा सिंचाई तथा जरुवा व्यवस्थापनमा उत्पन्न हुनसक्ने समस्याको आंकलन गरी बैकल्पिक व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ।
विमानस्थल निर्माण पश्चात सिर्जना हुने रोजगारीका अवसरमा आयोजनाबाट विस्थापित हुने व्यक्ति र स्थानीयहरुलाई प्राथमिकता दिन समेत भनेको छ।
समितिले विमानस्थल वरपरका क्षेत्रमा अलग्गै एयरपोर्ट सिटी आवश्यकता नभएको समेत निष्कर्ष निकालेको छ। आयोजनाले उक्त क्षेत्रका लागि भनेर छुट्टाएको जग्गा सुरक्षित रुपमा राख्न समेत समितिले भनेको छ।
डिपिआर पहिले बनाउ
राष्ट्रियसभाका सांसदहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन्।
संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सुरु गर्नुअघि नै स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै सो आयोजना अघि बढाउन उपयुक्त हुने सांसद पाण्डेको भनाइ छ।
राष्ट्रिय सभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले स्थानीय जनताले पनि सो आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै तोकिएकै मितिमा समयमा सम्पन्न हुनेगरी सो विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
आगामी ४ वर्षभित्र सम्पन्न गरीसक्ने लक्ष्य लिइएको सो राष्ट्रिय गौरवको आयोजनाको लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।