काठमाडौं– ‘चोरका हजार दाउ’ भनेझैं राजधानीका पाकेटमारहरुले पनि नयाँनयाँ तरिका अपनाउने गरेको पाइएको छ। पछिल्लो समय प्रहरीले राजधानीका पाकेटमार धमाधम पक्राउ गर्न थालेपछि कोडभाषा प्रयोग गरेर पाकेट मार्ने गरेको पाइएको हो।
पाकेटमारले सर्वसाधारणले नबुझुन् भनेर कोडभाषा प्रयोग गर्दै सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। भीडभाड भएका सार्वजनिक यातायातमा पाकेटमारीका ४/५ जनाको समूह चढ्ने र पैसाको व्यक्ति थाहा पाएपछि चारैतिरबाट घरेर पाकेटमारी गर्ने गरेको प्रहरीले जनाएको छ।
'सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २/२ जनाको दरले ६ जनासम्मको समूहमा बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेराबन्दीमा पार्ने’ परिसरका डिएसपी होविन्द्र बोगटीले पाकेटमाराहरुका तरिका बताउँदै भने, ‘त्यसपछि ठेलमठेलको अवस्था बनाई मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेट मारेर पालो पालो गरी ओर्लने गरेको देखिन्छ।’ यसरी उनीहरुले चार्ने बेला र चोरी सकेपछि कोडभाषाको प्रयोग गर्ने गरेका छन्।
यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोडभाषा
पैसालाई – द
मोबाइललाई – कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नुलाई – मास्टर÷कासी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाइ आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा
७७ जना पाकेटमार पक्राउ
सार्वजनिक यातायातमा पाकेटमारी व्यापक रुपमा हुन थालेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यातायात व्यवसायीहरुसँग सहकार्य गरी पाकेटमारा विरुद्ध गत मंसिर १५ गतेदेखि विशेष अभियान सुरु गरेको थियो। ५० जना सादा पोशाकका प्रहरीको टोलीले बनाई पाकेटमारी गर्नेको सूक्ष्म निगरानी गरिएको थियो।
विशेष अभियान लागू भएपश्चात अहिलेसम्म काठमाडौं प्रहरीले काठमाडौंका विभिन्न स्थान तथा बसहरुबाट पाकेटमारी गर्ने ७७ जनालाई पक्राउ गरेको छ। प्रहरीले पाकेटमारी गर्दागर्दै विभिन्न व्यक्तिका ५ लाख ९६ हजार रुपैयाँ बरामद गरी तत्काल पीडितलाई दिएको थियो।
पाकेटमारी गर्दागर्दै बरामद भएको १ लाख ६० हजार ७ सय चोरी मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ। त्यस्तै ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुन चाँदीका गरगहना, विभिन्न देशका मुद्रालगायतका सामान पनि बरामद गरेको छ।
पाकेटमारी गर्नेलाई पहिलो पटक पाकेट मारी गरेको भएमा १ महिना जेल तथा विगो बराबरको जरिवानाको व्यवस्था छ। त्यसैगरी दोस्रो पटक पाकेटमारी गर्नेलाई दुई महिनाको कैद तथा बिगो बमोजिमको जरिवाना कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ। फितलो कानुनको फाइदा उठाउँदै पाकेटमारले पटकपटक पाकेट मार्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।