मुम्बई (एजेन्सी)– बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको सम्बन्धको विषयमा को जानकार नहोला! उनीहरुका समर्थकहरु सधै यो जोडी सँगै भएको हेर्न रुचाउँछन्। तर, यी फ्यानको रुचिलाई पहिलो पल्ट लुगा उत्पादक कम्पनी ‘मान्यवर’ ले आफ्नो नयाँ विज्ञापनमार्फत पुरा गरेको छ।
विज्ञापनमा दुबैको केमिष्ट्री निकै राम्रो देखिएको छ। अनुष्का र विराटले पनि यो भिडियो शुक्रबार मात्र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए। विज्ञापनमा यो जोडीले एक–अर्कालाई साथ दिने घोषणा गरेका छन्।
पहिलो घोषणा विराटले गरेका छन्, ‘म वचन दिन्छु, महिनाको १५ दिन खाना म बनाउँछु।’ उनको घोषणाको प्रतिउत्तर दिने क्रममा अनुष्काले भनेकी छिन्, ‘म पनि वचन दिन्छु, जस्तो सुकै खाना बनाए पनि खान तयार छु।’ लगत्तै अनुष्का भन्छिन्, ‘तिम्रो सबै गोप्यतालाई मेरो मुटुमा राख्छु।’
अनुष्काकाे याे भनाई पछि विराट भन्छन्, ‘म तिमीलाई परिवर्तन गर्ने प्रयास गर्ने छुइन।’ लगत्तै अनुष्का भन्छिन्, ‘म कहिले काहीँ तिमीलाई क्यारेम (बोर्ड) मा जित्न दिन्छु।’ यसमा विराटको उत्तर आउँछ, ‘म कुनै पनि सोको सिजन फिनाले तिमी बिना हेर्ने छैन।’
विराटले अनुष्काका लागि आफू सधै फिट हुने बताएका छन्। यो प्रतिक्रियाको विषयमा अनुष्का भन्छिन्, ‘राखेनौ भने पनि चल्छ।’ अन्त्यमा विराट अनुष्कालाई भन्छन्, ‘म सधै तिम्रो हेरचाह गर्छु।’ विराटको यो कुरा सुनेपछि अनुष्का लजाउँदै भन्छिन्, ‘म पनि।’
विराट–अनुष्काको यो विज्ञापन रोमान्टिक मात्र होइन, भावनात्मक पनि भएको बताइएको छ। यो जोडीको विवाह हेर्न चाहने समर्थकका लागि विज्ञापन दुबैको प्रेम सम्बन्धप्रतिको गहिरो झुकावको रुपमा पनि लिइएको छ।
भारतको सबैभन्दा चर्चित प्रेम जोडी मानिने विराट–अनुष्काको सम्बन्ध २०१३ देखि निरन्तर छ। यो जोडी धेरै पल्ट सँगै देखिए पनि अनुष्काले खुलेर कुरा गरेकी छैनन्।
विराट र अनुष्का सानैदेखि एकअर्कालाई चिन्ने गर्थे। सानोमा अनुष्काले विराटसँग क्रिकेट पनि खेलेकी थिइन्। अनुष्काका भाई करुणेशले युथ–१९ क्रिकेट खेलिसकेका छन्। करुणेश र विराटको लामो समयदेखि राम्रो चिनजान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।