रत्ननगर – चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि विदेशमा बस्ने नेपालीहरुबाट रु ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
गैरआवासिय नेपाली संघ रसियाद्धारा सो आश्रमको सेवा कार्यका लागि रु ६ लाख सहयोग प्राप्त भएको आश्रमकी संयोजक रुपा केसीले बताए।
एनआरएनएका निवर्तमान अध्यक्ष तथा रसियाका प्रमुख संरक्षक जीवा लामिछानेको सहभागितामा एनआरएनए रसियाका संरक्षक टेकराज निरौला र कोषाध्यक्ष गोबिन्दप्रसाद आचार्य तथा सल्लाहकार खेमराज लामिछानेले उक्त रकम आश्रममा नै पुगेर हस्तान्तरण गरे।
सडकमा रहेका असहाय तथा मनोरोगीहरुलाई उठाएर आवश्यक उपचार र मनोविमर्श सेवा दिएपछि पुन परिवारमा फर्काउने आश्रमको कार्यबाट आफूहरु प्रभावित भएको भन्दै गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष जीवा लामिछाने र संरक्षक टेकराज निरौलाले यस्ता मानवसेवाका लागि आगामी दिनमा आफ्नोतर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आश्रमले अहिले सडकमा कष्टकर जीवन गुजार्दै आएका तथा मनोरोगीहरु गरी ५० जनालाई उद्धार गरी पालन पोषण तथा मनोविमर्श सेवा दिएर राखेको छ।
प्राप्त रकम आश्रमको भवन निर्माणमा खर्च गरिने जनाएको छ। हाल भरतपुरको बाईपासरोडमा रहेको आश्रम भाडामा सञ्चालन हुँदै आएको छ । नारायणगढका एक व्यवसायीले जग्गा दिएकाले अब भवन निर्माणको काम शुरु हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
चितवन सहित हेटौडा, काठमाडौ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बाग्लुङमा कार्यालय खोलेर आश्रमले सडकमा वेवारिसे तथा कष्टकर जीवन गुजार्दै आएकाहरुलाई उद्धार गर्दै आएको छ । यो अभियान देशव्यापी बनाउने योजना आश्रमको छ । हाल उद्धार गरिएका ३२२ जना असहायहरुले ती कार्यालयशरुबाट सेवा पाईरहेको जनाइएको छ।
२०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनस्र्थापित गरिसकेको छ । विसं २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको रहेको अध्यक्ष अधिकारीको भनाई छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।