राजविराज– कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भइरहेका बेला अतिरिक्त हुलाक कार्यालयका कर्मचारी पनि आन्दोलनको तयारीमा लागेका छन्।
सरकारले कर्मचारी–कर्मचारीमा विभेद गर्नुका साथै अतिरिक्त हुलाकका कर्मचारीमाथि अन्यायपूर्ण व्यवहार गरिरहेकाले आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ। आन्दोलन तयारीका लागि पुस ७ गते सप्तरी सदरमुकाम राजविराजमा कर्मचारीहरुको राष्ट्रिय भेला बोलाइएको छ।
देशभरका ३ हजार ४ सय ७४ अतिरिक्त हुलाक कार्यालयमा कार्यरत १० हजार ७ सय ७७ कर्मचारीहरुको भेलाले संघर्ष समिति गठन गर्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी राष्ट्रिय भेला तयारी समितिका संयोजक देवनारायण यादवले बताए।
सरकार र सम्वन्धित विभागमा आफूहरुको समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि आश्वासनबाहेक केही नपाएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको संयोजक यादवले बताए। ‘हामी वर्षौंदेखि मासिक ६ हजार तलबमा काम गरिरहेका छौं,’ उनले भने, ‘कर्मचारी–कर्मचारीमा यसरी विभेद गर्न पाइन्छ?’
सरकारले बेवास्ता गर्दा आफूहरुलाई दैनिक हातमुख जोर्न पनि समस्या भएको मोरङ्गस्थित अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मी श्रेष्ठले बताइन्। ‘यो विषयमा हामीले सरकारलाई पटकपटक ध्यानाकर्षण गरायौं, तर आन्दोलन र तोडफोडको भाषा मात्र बुझ्ने सरकारले कहिल्यै हाम्रो माग सुनुवाइ गरेन,’ उनी भन्छिन्, ‘महँगीले चरम सीमा नाघिसक्यो, हाम्रो पारिश्रमिकमा पुनर्विचार भएन।’
अतिरिक्त हुलाक कर्मचारीलाई नेपाल सरकारको कर्मचारी मान्नुपर्ने, निजामति कर्मचारीसरह सेवा सुविधा दिनुपर्ने तथा बिमाको व्यवस्था, नागरिक लगानी कोष कट्टा, २०७४ सम्म काम गरेका कर्मचारीलाई निसर्त स्थायी गर्नुपर्ने लगायतका १४ वटा माग राखेर आफूहरु आन्दोलनमा जान लागेको श्रेष्ठले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।