पोखरा– बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्यान्ड हटाउन थालिएको छ।
पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत मुस्ताङ चोकमा रहेको आइल्यान्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए। आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा २ वटा डोजरको प्रयोग गरी आइल्यान्ड भत्काइएको थियो।
पोखरा विमानस्थलको नजिकै रहेको आइल्यान्डमा नेपाल कम्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ। आइल्यान्डलाई सानो बनाएर स्व गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए।
आइल्यान्ड परिसरमा रहेका सिसौका रुखसमेत हटाइनुका साथै पृथ्वी चोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंह चोक, वीरेन्द्र चोकका आइल्यान्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइसकिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।