काठमाडौ– निधन भएका पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको अन्त्येष्टि बुधबार गरिने भएको छ।
बुधबार ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने तयारी रहेको गिरीकी श्रीमति सारा गिरीले जानकारी दिइन्। 'किनकि, उहाँले जिवित छँदै लिखित रुपमै आफ्नो अन्त्येष्टि त्यहीँ गर्न ईच्छा राख्नुभएको थियो', निवासमा उपस्थित सञ्चारकर्मीहरुलाई उनले भनिन्।
अन्तिम श्रद्धाञ्जलीका लागि शवलाई आज दिनभर निवासमै राखिने उनले जानकारी दिइन्।
मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएका गिरीलाई श्रद्धाञ्जली दिन उनको निवास बुढानिलकण्ठमा विभिन्न पार्टीका नेताहरुको उपस्थिति थियो। प्रदीप गिरि, राधाकृष्ण मैनाली, पशुपतिशमशेर जबरा, विश्वबन्धु थापा लगायत निवास पुगेका थिए।
बिपी कोइरालाले नेतृत्व गरेको मन्त्रिपरिषद्मा गिरी पराराष्ट्रमन्त्री थिए। तर, बिपी र कांग्रेसलाई घात गरी उनी पञ्चायतको सारथी भएका थिए। पञ्चायतकालमै उनी विभिन्न मन्त्री, मन्त्रिपरिषद् उपाध्यक्ष तथा प्रधानमन्त्री समेत बनेका थिए।
जनमत संग्रहको घोषणासँगै राजनीतिबाट बाहिरिएका उनी लामो समय विदेशमा बसेका थिए। तर, ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी नेपाल फर्किएका थिए। र, शाही मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।