काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन्।
केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको मंगलबारको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाइ भएकोमा पार्टी नेतृत्वको आलोचना गरे। उनीहरुले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै गुनासो पनि गरे।
पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबारको बैठकमा ८ जना नेताहरुले आ–आफ्नो धारणा राखेका छन्। सो क्रममा उनीहरुले पार्टीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक रुपले पनि एकतावद्ध बनाउन ढिलाइ नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
सोमबारको बैठकमा पनि नेताहरुले विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्र्काे आलोचना गरेका थिए।
आजको बैठकमा अध्यक्षद्धय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले भाग लिएका थिए।
सरकार र पार्टीको हालसम्मको काम कारबाहीबारे नेताहरुले बैठकमा आ–आफ्नो धारणा राखेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी समिति बैठक बुधबार पनि बस्नेछ। बुधबार बिहान ८ बजे बोलाइएको बैठकमा बाँकी नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन्।
४५ सदस्यीय नेकपा स्थायी समितिमा सोमबार १० जना र मंगलबार ८ जना गरी १८ जना नेताहरुले मात्रै बोलेकाले बैठक अझै केही दिन लम्बिन सक्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
शनिबारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा सचिवालय सदस्य बामदेव गौतमले आफूप्रति पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।