काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य योगेश भट्टराईले सार्वजनिक रुपमा उठेका टीका टिप्पणीलाई कुनै छड्के जवाफ दिएर भाग्न नसकिने बताएका छन्।
नेकपाको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राखेपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले जनमतको रक्षा गर्ने दायित्व नेकपालाई भएकाले सार्वजनिक रुपमा उठेका विषय कतिपय आरोप भए पनि कतिपयमा सत्यता भएको बताए।
नेता भट्टराईले कम्युनिस्ट सरकार असफल बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व सक्रिए भएकाले सही र गलत छुट्याउन आवश्यक भएको बताए। सार्वजनिक टीकाटिप्पणी र आलोचनालाई वस्तुगत आधारमा स्वीकार गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता आलोचना र टिप्पणीलाई सच्याउनुबाहेक अर्को विकल्प नभएको बताए।
सुशासन, भ्रष्टाचार, राजनीतिक नियुक्ति जस्ता विषय गम्भीर रुपमा उठेकाले गन्हाएका व्यक्तिलाई पदमा राख्दै भ्रष्टाचार अन्त्य गर्नु भन्ने कुरा जनताले नपत्याउने उनले उल्लेख गरे।
आजको बैठकमा बोल्ने अन्य सदस्यहरुले अहिलेका समस्या र चुनौतीको समाधान सामूहिक नेतृत्वबाट मात्रै सम्भव भएको धारणा राखेका छन्। कुनै नेताको अलौकिक क्षमता र शक्तिले मात्र अहिलेका समस्या समाधान हुन नसक्ने हुँदा सीमित व्यक्तिको नेता बन्ने कार्यबाट पछि हट्न सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन्।
अध्यक्षद्वय वैधानिक बोटोबाटै आएकाले नेतृत्वलाई सबैले स्वीकार गरेपछि पार्टी र सरकार सञ्चालनको पद्धति पनि वैधानिक हुनुपर्ने समितिका सदस्यहरुले बताए। यस्तै, पार्टीमा जिम्मेवारीको बाँडफाँट, तल्लो तहसम्म पार्टी एकीकरणको प्रक्रियालगायत विषय निश्चित र स्पष्ट मापदण्ड बनाएर पुसभित्र सम्पन्न गरिसक्नुपर्नेमा सदस्यहरुले जोड दिएका छन्।
आजको बैठकमा भीम रावल, केशव बडाल, टोपबहादुर रायमाझी, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वी सुब्बा गुङले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।