दमौली- दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।
केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ।
उनले भने, 'राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ।'
अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसीबाहेकका सेवामा शतप्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ।
'अस्पताल आउने बिरामीलाई यहाँको वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान थालेका छौँ,' अधिकारीले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।