दोहा- पूर्व युद्धबन्दी नादिया मुरदले इस्लामिक स्टेट (आइएस) समूहका नेताहरूलाई याजिदी अल्पसङ्ख्यक समुदायका महिलाहरूमाथिको अपराधबारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा फैसला हुनुपूर्व उनीहरूको सुरक्षा गरिदिन आइतबार आग्रह गरेका छन्। नोबेल पुरस्कार विजेता तथा इराकी जिहादी समूहको निगरानीमा रहेका मुरदले याजिदी महिलाहरूको सुरक्षा गरिदिन आग्रह गरेका हुन्।
'इराकी आइएस समूह (दायस)लाई अन्तर्राष्ट्रिय अदालतमा ल्याइनुपूर्व उनीहरूको आक्रमणको निशाना बन्दै आएका याजिदी महिलाहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्छ,' २५ वर्षीय इराकी नागरिक मुरदले कतारमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा बताए।
मुरदले इराक र उक्त क्षेत्रका अन्य मुलुकका नेतृत्वलाई सङ्केत गर्दै भने, 'मेरो याजिदी अल्पसङ्ख्यक समुदायका सदस्यहरूमाथि आतङ्कवादी समूह दायसले गर्ने गरेका कुकृत्य र अपहरणजस्ता जोखिमबाट उनीहरूलाई जोगाउनु प्रमुख चुनौती बनेको छ। उनीहरूलाई दिनदिनै प्रताडित बनाइएको छ।'
मुरदलाई याजिदी समुदायको अधिकारका लागि गरेको योगदानस्वरूप करिब एक महिना पहिले यस बर्षको नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो। उक्त पुरस्कार मुरद र एक जना कङ्गोली चिकित्सकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो।
हजारौँ याजिदी महिला, किशोरीसहित मुरदलाई आइएसले इराकको सिनजार क्षेत्रबाट सन् २०१४ मा अपहरण गरी बर्बर दुर्व्यवहार गरेका बताउने गरिन्छ। इराक युद्धका समय करीब ३ हजार महिला तथा किशोरीलाई अपहरण गरिएको र बलात्कार गरी योनदासीका रूपमा बेचिएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।