दुबई- विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ।
संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन्।
शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ। मृत्यु भएकामध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ। अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा ७ जना विद्रोहीलाई नियन्त्रणमा लिइएको पनि सरकार पक्षीय श्रोतले जनाएको छ।
घटनास्थल होडेइडा देखि २० किलोमिटर टाढा पर्दछ। स्थानीय बासिन्दाले टेलिफोनमा दिएको जानकारीअनुसार गोली हानाहानको आवाज रातभरी सुनिएको थियो। उनीहरुले आइतबार बिहान ५ बजेसम्म भिडन्त भएको पनि जानकारी दिएका छन्।
राष्ट्रसंघको पहलमा यमनको सरकारी र विद्रोही पक्षका बीचमा शान्ति वार्ता गराउने गरी केही समय अगाडि भएको युद्धविराम अहिले कार्यान्वयनमा छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।