युद्धविक्रम शाह नेपाली क्रिकेटका एकमात्र यस्ता भाग्मानी ब्याट्सम्यानहुन्, जसले भारतको प्रतिष्ठित रणजी ट्रफी खेल्ने अवसर पाए। करिब ६३ बर्षअघि २०११ सालमा शाहले विहारबाट रणजी ट्रफीमा प्रतिनिधित्व गरेका थिए।
उनले आसामको झोरहटमा घरेलु आसामविरूद्ध इनिङको सुरुवात गरेका थिए। आसामविरूद्ध प्रारम्भिक ब्याट्सम्यानको रूपमा मैदान प्रवेश गरेका शाहले पहिलो इनिङमा ८ रन र दोस्रो इनिङमा ६ रन बनाएका थिए। उनी दुवै पल्ट बोल्ड भएका थिए। तीन दिने यो खेलमा शाहलाई पहिलो इनिङमा फ्राङ्क र दोस्रो इनिङमा गिरधारीले बोल्ड गरेका थिए। यो खेल बिहारले ४६ रनले जितेको थियो।
‘युद्धविक्रम नेपाली नागरिकता बोकेर रणजी खेल्ने पहिलो नेपाली क्रिकेटर हुन’, नेपालका पूर्व क्रिकेटर शक्ति राणा भन्छन्।
शाहले क्रिकेटको प्रारम्भिक शिक्षा राँचीको चोतनागपुर जिमखाना क्लबबाट लिएका थिए। पछि उनी विहार स्कुल–११ (विहारभरिको स्कुलबाट छनोट भएको क्रिकेट टोली) को कप्तान पनि बन्नपुगे।

उनी नेपालमा नेपाल क्रिकेट संघ (क्यान) को टोलीबाट खेल्थे। २०११ सालमा विष्णु ट्रफीमा शाहले सानदार सतक हिर्काउँदै आफ्नो अद्भुत ब्याटिङ प्रतिभाको परिचय दिएका थिए।
यसका लागि उनलाई सरदार बहादुर मल्ल कपले सम्मानित गरिएको थियो।
उनी सोही बर्ष भारतको पटना र कोलकाता गएको क्यान टोलीमा पनि सम्मिलित थिए। शाहले कोलकाताको मोहनबगान क्लबविरुद्ध सोही वर्ष अविजित ७१ र भारतीय मिलिटरी मिसनविरुद्ध ७६ रन बनाएका थिए।
यस्तै, सन् १९५५ माभएको मदन मेमोरियल सिल्डको फाइनलमा त्रिचन्द्र क्याम्पसविरूद्ध सानदार १ सय ६६ रन बनाएकाथिए। त्यतिखेर त्रिचन्द्र सन् १९५३–५४ मा शिल्ड च्याम्पियन भएर बलियो टोलीका रूपमा स्थापित भएको थियो।
उनले पूर्वन्यायधिस पृथ्वीबहादुर सिंहसँग मिलेर त्रिचन्द्र कलेजविरूद्ध दोस्रो विकेटका लागि गरेको ३ सय २७ रनको साझेदारीको कीर्तिमानअहिले पनि कसैले तोड्न सकेको छैन।
युद्धविक्रम नेपाली खेलकुदमा श्याम शाहको नामले परिचित छन। उनी २०४६ देखि ४८ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त भएका थिए। उनका ८ वर्षअघि निधन भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।