काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। काठमाडौंको योगम्बर पार्टी प्यालेसमा सुरु बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको छ।
बैठकमा स्वागत मन्तव्य राख्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट पार्टीको आलोचना गरे। उनले नेपाली कांग्रेसले कार्ल मार्क्सले छोडेको दर्शन नबोकेको प्रष्ट पारे।
'कार्ल मार्क्सले रोगको पहिचान गर्ने प्रयत्न गर्नुभयो। मेडिसिन प्रेस्क्राइब गर्नेमा रित्तो पन्ना छोडेर जानुभयो। दुनियाँभरका कम्युनिस्टहरुले अनेक प्रकारले मेडिसिन लेख्दा सिंगो दुनियाँले दु:ख पायो। कांग्रेस त्यो मार्क्सले छोडेर गएको दर्शन होइन, कांग्रेस जननेता बिपी कोइरालाले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्छ', उनले भने।
शर्माले बिपीले प्रस्तुत गरेको लोकतान्त्रिक समाजवादमाथिको विश्वासको बाटोबाट देशलाई बदल्ने सामर्थ्य राख्ने बताए।
शर्माले सरकारको पनि आलोचना गरे। सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिस्ट मत दिएका हजारौं नेपालीले सरकार नभेटेको उनले आरोप लगाए।
नयाँ युग भन्दै केही समयअघि भएको प्रचारप्रति पनि शर्माले आक्रोश पोखेका छन्। कस्तो नयाँ युग आएको भन्दै आम मानिसले प्रश्न गरिरहेको उनले बताए। 'पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँस्न हुने अनि जनताकी एउटी छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर तस्बिर टाँस्दा च्यातिने र गिरफ्तार हुनेहरु महासमितिमार्फत न्याय पर्खिरहेका छन्', उनले भने।
उनले १५ वर्षमा लगातार तीन वटा निर्वाचन जितेर देशलाई समृद्धिको दिशामा लैजाने संकल्प महासमितिले गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।