नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेटका पूर्व स्टार वीरेन्द्र सहवाग शुक्रबारदेखि ३९ वर्षमा प्रवेश गरेका छन्। भारतीय क्रिकेटमा सचिन तेन्दुलकरलाई ‘भगवान’ को दर्जा प्राप्त छ। तर, सहवाग विस्फोटक शैलीमा व्याटिङ गर्ने कारण सबैमाझ लोकप्रिय छन्। उनले छक्का हिर्काएर सतक, दोहोरो सतक र तेहरो सतक बनाएका थिए। उनको नाममा टेस्ट क्रिकेछमा दुई वटा तेहरो सतक बनाउने कीर्तिमान छ। एकदिवसीयमा पनि उनले दोहोरो सतक बनाएका छन्। उनीसँग जोडिएको १० विशेष कुरा यस प्रकार रहेको छ।
१. सहवागलाई ‘नजफगढको नवाब’ र ‘मुल्तानको सुल्तान’ भनेर सम्बोधन गर्ने गरिन्छ। उनी दिल्लीको नजफगढ क्षेत्रका बासिन्दा हुन्। पाकिस्तान विरुद्ध मुल्तान टेस्टमा उनले तेहरो सतक प्रहार गरेका थिए।
२. सहवागले आफ्नो करिअरमा १ सय ४ टेस्ट रर २ सय ५१ एकदिवसीय खेलेका छन्। उनले १ सय ४ टेस्टको १ सय ८० इनिङमा ४९ दशमलव ३४ को औसतले ८ हजार ५ सय ८६ रन बनाएका थिए, जसमा २३ सतक समावेश छ। २ सय ५१ एकदिवसइमा उनले ३५ दशमलव ०५ को औसतले ८ हजार २ सय ७३ रन बनाएका थिए, जसमा १५ सतक समावेश छ। एकदिवसीयमा उनको नाममा २ सय १९ को उच्च योगफल छ। उनले १९ टि–२० पनि खेल्न भ्याएका थिए।
३. सहवागले पहिलो एकदिवसीय १९९९ मा पाकिस्तान विरुद्ध खेले। उनले पहिलो टेस्ट २००१ मा दक्षिण अफ्रिका र पहिलो टि–२० २००६ मा दक्षिण अफ्रिका विरुद्ध खेलेका थिए।
४. वीरेन्द्र सहवाग भारतीय क्रिकेटका एक्लो यस्ता खेलाडी हुन्। जसको नाममा टेस्टमा दुई वटा तेहरो सतक बनाउने कीर्तिमान छ। उनी बाहेक करुण नायरले टेस्ट क्रिकेटमा तेहरो सतक बनाएका छन्। सहवागले पाकिस्तान र अफ्रिका विरुद्ध यो कीर्तिमान रचेका थिए।
५. सहवागले आफ्नो पहिलो टेस्टमै सतक बनाएका थिए। सन् २००१ मा ब्लोमफोन्टेनमा भएको टेस्टमा उनले १ सय ५ रन बनाएका थिए। यद्यपि भारत यो खेलमा पराजित भएको थियो।
६. वीरुलाई दुध पिउने ठूलो शौख छ। टिम इन्डियाका तीब्र बलर आशिष नेहराले एउटा अन्तर्वार्तामा कोटला मैदानमा अभ्यासका लागि आफूलाई लिन आउँदा सहवागले आफ्नो भागको दुध पनि पिउने गरेको खुलासा गरेका थिए।
७. सहवाग अफ स्पिन पनि गर्थे। उनले टेस्ट क्रिकेटमा ४० र एकदिवसीयमा ९६ विकेट लिएका थिए।
८. सहवाग वर्ष २००७ मा टि–२० विश्वकप जित्ने भारतीय टिमको सदस्य थिए। वर्ष २०११ मा ५० ओभर विश्वकप जित्ने भारतीय टोलीको पनि उनी सदस्य थिए। दुबै विश्वकप भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो।
९. व्याटिङ गर्ने क्रममा आफ्नो तनाव कम गर्न सहवाग मैदानमै गीत गुनगुनाउँथे। उनी किशोर कुमारको ठूलो प्रसंसक हुन्। उनको विवाह आरतीसँग भएको थियो, जसबाट दुई छोरा छन्।
१०. सोशल मिडियामा उनले गर्ने रोचक कमेन्ट्सका कारण उनको फ्यान धेरै छन्। उनी भारतीय टिमको प्रशिक्षक बन्ने अभियानमा थिए। तर, सफल हुन सकेनन्। हाल उनी कमेन्टेटरको रुपमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।