नयाँ दिल्ली (एजेन्सी)– रणवीर सिंहले बलिउडमा आफ्नो पकड कायम राखेका छन् । ‘पद्मावती’ मा अलाउद्दिन खिलजीको लुकका कारण उनी यतिबेला वाहवाही बटुलिरहेका छन् । यो तारिफले पछ्याइरहँदा रणवीर आगामी अर्को फिल्ममा सन् १९८३ मा भारतलाई पहिलो विश्वकप जिताएका क्रिकेट कप्तान कपिल देवको भूमिकामा पनि देखा पर्दैछन्।
यसैबीच नयाँ खबर आएको छ, ‘सिंह इज किङ’ को सिक्वलमा उनले अक्षय कुमारलाई प्रतिस्थापन गर्दै छन् । बलिउडमा रणवीरको बढ्दो प्रभावका कारण अन्य स्टारहरु सजग बन्न थालेको बताइएको छ।
‘सिंह इज किङ’ २००८ मा रिलिज भएको थियो । अनिस बज्मी निर्देशित तथा अक्षय र कैटरिना स्टारर सो फिल्म हिट भएको थियो । ५० करोड रुपैयाँमा बनेको ‘सिंह इज किङ’ ले बक्स अफिसमा १ सय करोड कमाइ गरेको थियो। । विपुल शाहको लगानीमा बनेको यो फिल्मको सिक्वेल शैलेन्द्र सिंहले बनाउँदै छन् । जसको नाम ‘शेर सिंह’ राखिएको छ । यसमा कलाकारहरु नयाँ हुने बताइएको छ । फिल्ममा रणवीर अनुबन्धित भइसकेको बताइए पनि हिरोइन भने तय गरिएको छैन।
पछिल्लो समय आएका फिल्ममा रणवीरको कामको निकै प्रशंसा गरिएको छ । ‘वाजीराव मस्तानी’ मा उनले गरेको वाजीरावको भूमिकाको व्यापक तारिफ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।