काठमाडौं- चिनियाँ राष्ट्रपति सि जिनफिङले आगामी वर्ष (सन् २०१९) को पहिलो तीन महिनाभित्र नेपाल भ्रमण गर्ने विषयमा छलफल भइरहेको छ। नेपाल-चीनबीच भएको १२औं परामर्श संयन्त्रको बैठकमा राष्ट्रपति सिलाई नेपाल भ्रमणमा ल्याउने विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार समय यकिन नभए पनि आगामी वर्षको पहिलो तीन महिनाभित्र सिको नेपाल भ्रमण हुने सम्भावना छ।
बिहिबार सम्पन्न नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा सहभागी हुन बेइजिङ पुगेका परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रपति सिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। नेपालले सिको भ्रमणका विषयमा राखेको जिज्ञासामा चिनियाँ पक्षले उपयुक्त समयमा राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने प्रष्ट पारेको स्रोतको भनाइ छ।
यसअघि २०१६ मा पनि सि नेपाल भ्रमणमा आउने चर्चा थियो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपाल आउने बताइए पनि ओली सरकारको बहिर्गमनपछि सिको भ्रमण स्थगित भएको थियो।
ओलीको बहिर्गमनपछि पनि राष्ट्रपति सिको नेपाल भ्रमण कार्यक्रम यथावत राख्न सन् २०१६ अगस्ट १५ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएका थिए।
त्यतिबेला उनी तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा चीन गएका थिए। महारालाई चीन निकट नेताको रुपमा चित्रित गरिन्छ। तर राष्ट्रपति सिलाई नेपाल भ्रमण गराउने प्रचण्ड सरकारको प्रयास सफल भएन।
चिनियाँ राष्ट्रपतिबाट हुने भनिएको नेपाल भ्रमणको चर्चाबाट आत्तिएर भारतले ओली सरकारको बहिर्गमन गराउन खेल खेलेको तत्कालीन एमालेका केही नेताले आरोप समेत लगाएका थिए। भारतीय नाकाबन्दीबाट थिलिएको नेपालमा भारत विरोधी भावना उत्कर्षमा थियो।
त्यस्तो अवस्थामा राष्ट्रपति सिको नेपाल भ्रमणले स्थिति झनै नकारात्मक हुने आँकलन एमालेका नेताको थियो। ओली सरकार गिराउन भारतको हात रहेको उनीहरूको आरोप छ।
नेपाल भ्रमणमा नआए पनि सोही वर्ष सिले छिमेकी मुलुक बंलादेशको दुई दिने भ्रमण गरेका थिए। उनले बंलादेशसँग २७ विभिन्न विषयमा सहमति गरेको बताइएको छ। यसैगरी, १३ दशमलव ६ बिलियन अमेरिकी डलरको सहयोग गर्ने विषयमा सहमति पनि भएको थियो। त्यसअघि २०१५ मा बंलादेश भ्रमणमा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंलादेशलाई २ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।
प्रधानमन्त्री ओलीको सत्ता बहिर्गमनपछि भारतीय सञ्चारमाध्यमले प्रचण्डलाई भारतप्रति नरम नेताका रुपमा चित्रित गरेका थिए। ओली सरकार र चिनियाँ राष्ट्रपतिको सिको सम्भावित नेपाल भ्रमणका विषयमा मोदी सरकार कतिसम्म चिन्तित थियो भन्ने कुरा भारतीय सञ्चारमा छरिएका थिए।
सन् २००१ पछि चीनबाट नेपालमा उच्च स्तरीय कूटनीतिक भ्रमण हुन सकेको छैन। चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बरमा नेपालको दुई दिने भ्रमण गरेका थिए। यस्तै सन् २००१ मा चिनियाँ प्रधानमन्त्री झू रोंजीले नेपालको भ्रमण गरेका थिए।
यसैगरी, २०१२ जनवरीमा चिनियाँ प्रधानमन्त्री बेन जियावाओले पाँच घण्टाका लागि आकस्मिक रुपमा नेपाल भ्रमण गरेका थिए। मध्यपूर्वी देश साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमणमा गएका बेनले ट्रान्जिटका रुपमा नेपाल भ्रमण गरेका थिए।
सन् २०११ डिसेम्बरमै बेनले नेपाल भ्रमण गर्ने अपेक्षा गरिएपनि उनको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। नेपालले प्रर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै उनको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो।
त्यसको एक महिनापछि अर्थात् २०१२ को जनवरीमा बेनले नेपालको आकस्मिक भ्रमण गर्दा तिब्बती शरणार्थीहरूले नेपालमा विरोध गरेका थिए। बेनको विरोधमा उनको आवागमन अघि करिब १ सय ५० जना तिब्बतीलाई नेपाल प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको थियो।
छोटो समयका लागि बेनले नेपाल भ्रमण गरेका भए पनि चीन सरकारले नेपाल सरकारलाई ९ दशमलव ७ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। उच्चस्तरमा चीनबाट हुने भ्रमणका अवसरमा चीनले गर्ने आर्थिक सहयोगको प्रतिबद्धताले नेपाली जनता चीनप्रति सकारात्मक भावना अभिवृद्धि हुनु स्वभाविकै हो।
भारत विरोधी भावना बढ्दै गर्दा चीनप्रति नेपालीको भावना सकारात्मक हुनु भारतलाई चिन्ताको विषय बन्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।