नयाँ दिल्ली– उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन्।
खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ।
दर्जनाैं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन्। मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो।
खानीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा सङ्गमाले जानकारी दिए।
भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइला खानी खोल्नको लागि प्रतिबन्ध लगाएको थियो।
वातावरणकर्मीहरुले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइला खानीहरू रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए।
सरकारी प्रतिबन्धका बाबजूद त्यस इलाकामा अबैध रुपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुनेक्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।