जनकपुर- हत्या गरेको आरोपमा महोत्तरीबाट प्रेमी-प्रेमिका पक्राउ परेका छन्।
औरही नगरपालिका वडा नं २ फुलबरीया बस्ने ४० वर्षीय बेचु महतोको हत्याको आरोपमा सोही ठाउँका ३० वर्षीय सुशील सहनी र २९ वर्षीया जितनी महतो पक्राउ परेका हुन्।
गत बुधबार बिहान गाउँभन्दा ५ सय मिटर पूर्व उखुबारीमा मृत अवस्थामा बेचु महतोको शव फेला परेको थियो।
इलाका प्रहरी कार्यालय गौशलाका इन्चार्ज इन्स्पेक्टर किशोर आचार्यका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका जितनीले आफू र सुशील मिलेर हत्या गरेको बयान दिएकी छन्।
मंगलबार साँझ बेचु आफ्नो खेततर्फ जाँदै गइरहेको बेला लहरीबोटले घाँटी च्याप्दै उखुबारीमा लगेर हत्या गरेको जितनीले स्वीकार गरेकी छन्। घटनास्थलमा भेटिएको मास्क र टोपीको आधारमा अनुसन्धान गर्दा सुशीलसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ। उनको शव बुधवार बिहान उखुबारीमा फेला परेको थियो। मृतकको घाँटीमा नीलडाम देखेपछि घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको थियो।
सुशील र जितनीबीच सम्बन्ध रहेको बेचुले थाहा पाएका थिए। गाउँमा आफ्नो पोल खुल्ने डरले खेतमा गएका बेचुलाई प्रेमी सुशीलसँग मिलेर हत्या गरेको उनले बयान दिएको आचार्यले बताए। जितनीका श्रीमान् रोजगारीको सिलसिलामा काठमाडौं बस्दै आएका छन्। जितनीको गर्भमा ७ महिनाको बच्चासमेत रहेको प्रहरीको भनाइ छ।
मृतकको जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ भने पक्राउ परेका आरोपीहरुलाई आज २ बजे जिल्ला प्रहरी कार्यालय महोत्तरी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
मंगलबार राति घरबाट भागेका सुशीललाई भारतीय प्रहरीले नेपाल-भारत सीमाबाट गएराति समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।