तस्बिर : inheadline.com
काठमाडौं- नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुगेको छ। यो संख्या गत जनवरीदेखि नोबेम्बरसम्मको भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। गएको वर्षको तुलनामा यो संख्यामा १७ प्रतिशतले वृद्धि भएको हो।
बोर्डले एक विज्ञप्ति जारी गर्दै नेपालले लामो समयदेखि प्रतीक्षा गर्दै आएको १० लाख पर्यटक संख्या यो वर्ष पूरा भएको जानकारी दिएको छ। विज्ञप्तिमा जनाइए अनुसार यो संख्यामा गत एक महिनायता स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या समावेश छैन। ‘यदि स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा स्थिर रहेको खण्डमा पनि नेपाल भ्रमण गर्ने विदेशीको संख्या यो वर्ष गत वर्षको हालको अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
अक्टोबर र नोबेम्बर महिनाको अवधिमा मात्रै भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ हजार ५ सय ६६ र १६ हजार १ सय ६७ रहेको छ। यस्तै जनवरीदेखि नोबेम्बरसम्म २ लाख ६० हजारभन्दा धेरै भारतीय पर्यटक नेपाल भ्रमणमा आएको विज्ञप्तिमा उल्लेख छ। यस्तै, सोही अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ लाख ३४ हजार भन्दा धेरै रहेको पर्यटन बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले पर्यटकमा नेपाल भ्रमणको मात्रा बढ्नुले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको छवि सुध्रिएको सूचक भएको बताएका छन्। यसले नेपालले २०२० लाई पर्यटन वर्षको रुपमा गरेको घोषणा सफल हुने विश्वास पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।