काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधनको आवश्यकता औंल्याएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको विमोचन गर्दै प्रचण्डले आफ्नो आन्दोलन भिन्न रुपमा जारी छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए।
'रुपहरु फेरिएका छन्। हामीहरु अहिले हिंसात्मक रुपमा छैनौं। शान्तिपूर्ण प्रतिस्पर्धाबाट सहिदहरुको सपना पूरा गर्ने दिशामा अघि बढ्नुको विकल्प छैन', प्रचण्डले भने, 'हामीले संविधान बनाएका छौं। तर, त्यो संविधान संशोधनको एउटा प्रक्रियाबाट गुज्रेर मात्रै पूर्णतातिर जान सक्छ।'
प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको लागि जमर्को गरेको स्मरण गरे। 'विभिन्न कारणले सफल हुन सकेन', उनले भने, 'तर फेरि पनि संविधान संशोधन गर्नुपर्ने, गर्न सकिने, परिमार्जन गर्दै लैजानुपर्ने र त्यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, समूदायका हक अधिकारलाई अझ पूर्णतातिर लैजाने दस्तावेज हो।'
प्रचण्डले अहिलेको संविधानको विशेषता भनेकै त्यसले आफ्नो लागि परिमार्जनको ठाउँ खुला राखेको बताए। 'यस अर्थमा यसलाई हामीले रिजर्भेसनसहित स्वीकार गरेका छौं। हाम्रा केही भनाइहरु छन्। तर, यसमा टेकेर अगाडि जान सकिन्छ, जानुपर्छ भनेर यहाँ छौं', उनले भने।
प्रचण्डले हजारौंको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए। 'यो पनि पक्कै उपलब्धि हो, तर पूर्ण उपलब्धि भने होइन', उनले भने, 'हाम्रा सहिदहरुले जे सपना देखेका थिए। त्याे अझै पूरा भएको छैन। उत्पीडित जाति तथा समूदायले जुन प्रकारको अधिकार र पहिचान खोजेको हो। त्यो अझै पूरा भएको छैन। उत्पीडित वर्गले जुन स्तरको समाजको परिकल्पना गरेको हो, चाहेको हो र हाम्रा सहिदहरुले त्यसका निम्ति बलिदान गरेको हुन्, त्यो स्तरको अझै पूरा भएको छैन। त्यसैले हाम्रो आन्दोलन भिन्न रुपमा अझै पनि जारी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।