काठमाडौं– धर्म प्रचारको रुपमा विवादित संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै कांग्रेस नेता गगन थापाले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धी भिडियोले आफ्नो ध्यानाकर्षण गरेको भन्दै नेता थापाले फेसबुक तथा ट्विटरमार्फत युपिएफलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने मत राखेका हुन्।
उनले उक्त भिडियोको सुरुवातमै १३ वर्ष अगाडि ‘नोभेम्बर २२, २००५ मा नेपालमा युपिएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको’ भनिएकोले त्यसप्रति आफ्नो आपत्ति रहेको बताएका छन्।
थापाले लेखेका छन्, ‘युनिभर्सल पिस फेडरेसन उद्घाटन टुर कहिले, कसले गर्यो त्यो विषयमा हाम्रो कुनै चासो छैन, तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ।’
नेता थापाले भिडियोमा उल्लेख भएको दिनमा नेपालमा संसद नै नभएको बताएका छन्। ‘पहिलो कुरा त नेपालमा नोबेम्बर २२, २००५ अर्थात विसं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन। दोस्रो कुरा नेपालको संसदले सो समयपछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन। यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ।’, थापाले भने।
यसरी गलत प्रचार गरी नेपालको सम्मानित संसदको अपहेलनासँगै अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएकाले यो कृत्य निन्दनीय भएको भन्दै उनले आपत्ति जनाएका छन्।
२०६२ मंसिर ७ मा आन्दोलनरत सात दल र विद्रोही नेकपा (माओवादी) बीच ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो। सोही समझदारीको जगमा जनआन्दोलन भई संसद पुनर्स्थापना हुनुका साथै माओवादीले हतियार बिसाएर मूलधारको राजनीतिमा आएको थियो।
उक्त भिडियो सामाग्रीमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजना गरेको मात्र भनिएको छैन, युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपालमा भएको समिटमा हक जा हन मुनलाई सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सबै नेपालीले वैधानिकता दिएको भनेका छन्। नेपालमा इश्वरीय राज्य स्थापना गरिएको भनिएको छ। यसबाट पाि नेपाल र नेपाली जनताको घोर अपमान भएको गगन थापाको ठम्याइ छ।
‘इसाई धर्मसँग आवद्ध कोरियन अन्तर्राष्ट्रिय संस्था युपिएफ अन्तर्राष्ट्रिय रुपमानै विवादास्पद संस्थाको रुपमा चिनिन्छ। नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था युपिएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेका छन्। यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले वर्जित गरेको धर्मान्तर गर्ने कामसमेत गर्दै आएको छ। यस किसिमको गैरकानुनी, गैरसंवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको बदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ। यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सह्य हुँदैन।’, नेता थापाले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
उनले मुलुकको बदनाम गरेको, संसदको दुरुपयोग गरेको र अनेक गलत कामहरु गरेकाले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन्।
उनले धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरी आवश्यक कारबाही गर्नसमेत सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन्।
उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी ओहोदाका व्यक्तिको भूमिकामाथि नै प्रश्न उठेको उनको भनाइ छ।
विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरेपनि जनताले हिसाब–किताब गरेर उपयुक्त मौकामा दण्डित गर्ने पनि उनले दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, उनका विदेश मामिला सल्लाहकार राजन भट्टराईलगायतले संविधानविपरित धर्म प्रचार गर्ने कार्यलाई बढावा दिएको, पदको दुरुपयोग गर्दै सरकारलाई सहआयोजक बनाएकोलगायत गलत क्रियाकलापहरु गरेको भन्दै पार्टी भित्र र बाहिरबाट पनि ओली र भट्टराईको चर्को आलोचना हुँदै आएको छ।
थापाकाे फेसबुक पाेष्ट:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।