टोकियो, जापान- परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले) ले गाउँ फर्काएको छ।
वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्न सक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो। फिर्ता हुनेमा डा सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन्। आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिस भएपछि पाठक नेपाल फर्किसकेका छन् भने पण्डित फर्कने तयारीमा छन्।
पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आएका थिए। गाउँको विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिस गरेको उनीहरुको भनाइ छ। पण्डितले गाउँ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताए।
प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिस भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन्। त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिस भएर अर्को साता गाउँ फर्किने तयारीमा छन्।
गाउँ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि छन्। उनी पनि जापानबाट फर्किसकेका छन्। स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।