बुटवल- प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। दोस्रो अधिवेशन सकिएको चार महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो।
कानुन निर्माणमा केन्द्रित हुने भनिएको यो अधिवेशनबाट पारित गराउन सरकारले १४ वटा भन्दा बढी विधेयक यसअघि नै स्वीकृत गरिसकेको छ।
आजबाट सुरु भएको अधिवेशनमा दुई वटा विधेयक दर्ता भएका छन्।
प्रदेश सरकारलाई करिब एक सय कानुन आवश्यक रहे पनि प्रदेश ५ मा अहिलेसम्म १४ विधेयक मात्रै संसदमा दर्ता गर्न मन्त्रिपरिषदबाट पारित भएका छन्।
आजको बैठकले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ।
त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन समेत गरेको छ। यसका साथै विशेष समितिको प्रतिवेदन बुझाउन तीन महिना समय थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले संसदलाई जानकारी गराए।
प्रदेश सभाले अझै प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन।
आजको संसद बैठकमा बोल्दै सत्तापक्षीय सांसदले समेत सरकारको कडा आलोचना गरेका थिए। संसदमा रहेका विषयगत समितिले बिजनेस नपाएको, बजेट कार्यान्वयनमा कमजोर बनेको भन्दै सरकारलाई गति बढाउन आग्रह गरेका हुन्।
सत्तारुढ नेकपाका सांसद कृष्णध्वज खड्काले सरकारको कमजोरीले सांसदहरु निर्वाचन क्षेत्रमा जान समेत कठिन भएको बताए । सुरुका चरणमा नीतिनिर्माण नहुँदा समस्या रहेपनि बजेट कार्यान्वयनका सन्दर्भमा सरकार निरिह देखिएको उनले उल्लेख गरे।
सत्तारुढ दलका अर्का सांसद तुलबहादुर घर्तीले सरकार कानुन कार्यान्वयनमा कमजोर रहेको बताए। उनले जनताको चाहाना विकास निर्माण भएको भन्दै त्यसतर्फ अघि बढ्न सरकारलाई आग्रह गरेका थिए।
संसदमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति समेत रहेका कांग्रेस सांसद डिल्ली चौधरीले सरकारको गतिले जनता निराश रहेको बताए। प्रदेश सरकार यस्तै कमजोर बने संघीयता नै धरापमा पर्ने भन्दै संघीयता बचाउनकै लागि सरकारलाई सहयोग गर्न प्रतिपक्ष तयार रहेको उनको भनाइ थियो।
बैठकमा बोल्दै राजपाकी सांसद कल्पना पाण्डे, फोरमका सांसद सन्तोषकुमार पाण्डे, जनमोर्चाकी सांसद तारा जिसीले बोल्दै सरकारको कामप्रति असन्तोष व्यक्त गरे। प्रदेशसभाको अर्को बैठक पुस ८ गते बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।