काठमाडौं– आइतबार साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि इतर समूहको बैठकले विधानको विषयमा आफ्नो धारणा स्पष्ट बनाएको छ।
आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो 'बटम लाइन' पनि तय गरेको हो। बैठकमा संस्थापन इतर समूहका अधिकांश नेताको उपस्थिति थियो।
'विधानको विषयमा सहमति निर्माण गर्नका निमित्त बैठक बसिएको हो। विधानलाई सर्वसम्मत बनाउन केके विषयमा सहमति नजिक पुग्न सकिन्छ भन्ने सल्लाह हो', बैठकपछि नेता दिलेन्द्र बडुले बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुन बस्दैछ। त्यसअघि नै विधानमा दुवै पक्षबीच सहमति कायम गराउने प्रयास भएको हो।
गत मंसिर ९ गतेको केन्द्रीय बैठकमा पेश भएको नेपाली कांग्रेसको विधानको मस्यौदाका केही विषयमा नेताहरुबीच फरकफरक धारणा छन्। संस्थापनइतर समूहका नेताहरुले भने पदाधिकारीको संख्या बढाउने, निर्वाचित केन्द्रीय सदस्यको प्रतिशत बढाउने लगाउने विषयमा समान धारणा तय गरेका छन्। पदाधिकारीको संख्या बढाउनुपर्ने र ती सबै निर्वाचित हुनुपर्ने संस्थापन इतर पक्षका नेताहरुको समान धारणा छ। त्यस्तै, ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने र १५ प्रतिशत मात्रै मनोनित गर्नुपर्ने, प्रस्तावनालाई फरक ढंगले लेख्ने लगायतका विषयमा पनि उनीहरुबीच मतैक्य छ।
संस्थापन पक्षका नेताहरु पनि पदाधिकारीको संख्या बढाउन सहमत नै देखिन्छन्। तर उनीहरुको जोड भने मनोनितको संख्या बढी बनाउनेतिर देखिन्छ। 'बढाउनुपर्छ भन्नेमा लगभग सहमति छ। तर, कति बढाउने भन्ने विषय भने छलफलबाट टुंगो लाग्छ। तर नीतिगत सहमति भएको छ', बडुले भने।
आज बस्ने संयुक्त बैठकबाट एउटा निकास निस्कने अपेक्षा नेताहरुको छ।
मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ। सो बैठकले नयाँ विधान पारित गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।