लुम्बिनी- राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति नै समृद्धिको मूल आधार भएको विचार राखेकी छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले बुद्धका विचारहरु सर्वत्र स्तुतियोग्य रहेको बताइन्। करुणा र मैत्रीको अग्रदुत बुद्धको उपदेशलाई विश्व शान्तिको भावनमा विकास गर्नुपर्ने खाँचो रहेकोमा उनको जोड थियो।
बुद्ध र लुम्बिनी विश्वमा दुवै परिचित रहेको भन्दै उनले लुम्बिनी विश्वविद्यालय मानवता र शान्तिको ज्ञान छर्ने विश्वस्तरको प्राज्ञिक थलो बन्नुपर्ने आशा व्यक्त गरिन्।
सिंगो राष्ट्रको विकासमा लुम्बिनी बौद्ध विश्व विद्यालयले परिवर्तित सन्दर्भलाई आत्मसात गर्दै समृद्धि नेपालको आकांक्षा पूरा गर्नेमा आशा व्यक्त गरिन्। उनले विश्वविद्यालयले आफ्नो स्थापानाकालदेखि नै लक्षित योजना रहेकापनि यसले परिपुर्ति गर्न बाटोमा अगाडी बढेको बताइन्।
देश समृद्धिको बाटोमा अगाडि बढाउनका लागि लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानसमेत जोडेर बुद्ध परिपथको निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भूमिका महत्पुर्ण हुने बताए। बौद्ध विश्व विद्यालयले बौद्ध धर्मको प्रसारप्रसारमा विशेष योगदान दिने भन्दै यसमा प्रदेश सरकारबाट समेत सहयोग हुने बताए।
संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीको थप गरिमा बढ्दै गएको धारणा राखे। लुम्बिनीमा बौद्ध दर्शन मात्रै नभएर, होटल म्यानेजमेन्ट, टुरिजम लगायतका विषय थपेर थप नयाँ विषयहरु जोड्दै लाने बताए। लुम्बिनी विकास कोषको ५ प्रतिशत आम्दानी लुम्बिन विश्व विद्यालयलाई प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए।
लुम्बिनीमा ५ हजार बढी मानिस अट्ने सभाहल निर्माणको शिलान्यास भएको भन्दै उनले सबैको चिन्ता भएको यो भवन निर्माण २०७७ साल बैसाख पूर्णिमामा समुद्घाटन हुने समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।