काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताएका छन्।
७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १०औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने सम्भावना रहेको बताए।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दै उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावना रहेको दाबी गरे। सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले भने, ‘विधिसम्मत ढंगले सार्वजनिक गर्छौं। तर, राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला।’
प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे। उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए।
मन्त्री पोखरेलले, ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झन्डा बनाएर सडकमा आउनुभएको छ। माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला। आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन।’
राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका कामकारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।